बनियानी । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रेको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको सात करोड ५० लाख रूपैयाँको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो ।
कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए।
लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनले बताए । ‘लक्ष्मीमार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एकमात्र सडक हो’, वडाध्यक्ष सुवेदी भने, ‘झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।’ थोरै बजेटबाट केही सडकखण्ड कालोपत्रे गरिएको बताउँदै उनले प्रदेश र सङ्घीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्रे सम्पन्न हुने क्रममा रहेको बताए । वर्षा सुरु हुनुपूर्व वैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे।
कनकाई नगरपालिकाको एकल ६५ लाख रूपैयाँको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको ४५ लाख र कोशी प्रदेश सरकारको एक करोड २० लाख रूपैयाँको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको पाँच करोड २० लाख रूपैयाँको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन् ।
सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताए । ‘सडक कालोपत्रे नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका स्थानीयवासी लाभाविन्त हुनेछन्’, वडाध्यक्ष सुवेदीले भने ।
प्रतिक्रिया दिनुहोस्