Skip to content

घट्दै महँगी: मरमसला, माछा मासुको मूल्य घट्यो

काठमाडौं । पछिल्लो समय मूल्यवृद्धि कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो ।

जेठ मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।

जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।

तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।

जेठ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९० प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८ प्रतिशत, मधेस प्रदेशको २.५२ प्रतिशत, बागमती प्रदेशको २.२९ प्रतिशत, गण्डकी प्रदेशको १.७५ प्रतिशत, लुम्बिनी प्रदेशको २.३९ प्रतिशत, कर्णाली प्रदेशको २.५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.८६ प्रतिशत रहेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७३ प्रतिशत, तराईको २.५८ प्रतिशत, पहाडको २.४८ प्रतिशत र हिमालको ४.१८ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T