Skip to content

अमेरिकी करबीच भारतीय सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति प्राप्त

भारत । रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ ।

विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले आफ्नो बढ्दो घरेलु ऊर्जा माग पूरा गर्न र चीनसँग बजार हिस्सामा जुध्न सौर्य प्रविधिमा ठूलो लगानी गरिरहेको छ ।

कर छुट प्राप्त विशेष क्षेत्रमा रिन्यु कम्पनीको कारखानाले वार्षिक चार गिगावाट बिजुली उत्पादन गर्न सक्ने मोड्युल उत्पादन गर्छ । यो करिब २५ लाख घरधुरीलाई आवश्यक ऊर्जासँग बराबर छ ।

दुई वर्षमै एक हजार जनालाई रोजगारी दिने यो उद्योग भारतको तीव्र सौर्य वृद्धिको प्रतीक बनेको छ । गत आर्थिक वर्षमै भारतको सौर्य कम्पोनेन्ट उत्पादन क्षमता दोब्बरभन्दा बढी बढेको थियो ।

‘स्वच्छ ऊर्जामा प्रत्यक्ष योगदान दिन पाउनु खुसीको कुरा हो’, रिन्युकी इन्जिनियर मोनिशाले भने । तर, भारतलाई अझै चीनसँग जुध्न कठिनाइ छ । चीनले विश्वकै ८० प्रतिशतभन्दा बढी सौर्य कम्पोनेन्ट उत्पादन गर्छ र भारतका धेरै निर्माताहरू त्यसकै आपूर्तिमा निर्भर छन् । यता, प्रमुख बजार अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार भारतीय सामानमा ५० प्रतिशत कर लगाएको छ ।

यद्यपि भारतको घरेलु मागले यो दबाब कम गर्ने विश्लेषकहरूको भनाइ छ । हालै अमेरिकामा भारतले उत्पादन गरेको प्यानलमध्ये करिब एक तिहाइ बेचिएको थियो । त्यस आम्दानीले भारतीय कम्पनीहरूलाई आपूर्ति श्रृङ्खला अद्यावधिक गर्न मद्दत गरेको छ ।

‘भारतजस्तो ठूलो बजारले आफ्नै मोड्युल अवशोषित गर्न सक्छ, हामी निर्यातमा मात्र निर्भर रहनुपर्दैन’, ऊर्जा विश्लेषक चरिथ कोन्डाले भने । हैदराबादको भेगा सोलार जस्तै कम्पनीहरूले पनि कोभिड–१९ पछि निर्यातभन्दा घरेलु बजारमा ध्यान दिन थालेका छन् । ‘पहिले ९० प्रतिशत निर्यात हुन्थ्यो, अहिले ९० प्रतिशत बिक्री भारतमै हुन्छ’, कम्पनी निर्देशक विनय किसाराले भने ।

भारतले स्वच्छ ऊर्जामा महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सन् २०३० सम्म पाँच सय गिगावाट नवीकरणीय ऊर्जा पुर्‍याउने योजनाअनुसार अहिले एक सय ७० गिगावाट बराबरका परियोजना पाइपलाइनमा छन् ।

सरकारी प्रोत्साहन, आयातमा प्रतिबन्ध र अनिवार्य घरेलु खरिद नीतिले उद्योगलाई गति दिएको रिन्युका अध्यक्ष सञ्जय वर्गीसले बताए । यद्यपि भारत अझै चीनबाट कच्चा माल आयातमै निर्भर छ । यस वर्षको पहिलो त्रैमासिकमा मात्र १ अर्ब ३० करोड डलर बराबरका सौर्य सेल र मोड्युल आयात गरियो, तर यो गत वर्षको तुलनामा एक तिहाइभन्दा कम हो । विश्लेषकहरूले सन् २०३० सम्म भारतले प्रायः सबै सामग्री उत्पादन गर्ने तर पोलिसिलिकन मात्र आयात गर्नुपर्ने अनुमान गरेका छन्।

मार्चमा सकिएको आर्थिक वर्षमा भारतको सौर्य मोड्युल उत्पादन क्षमता दोब्बर भएर ७४ गिगावाट पुगेको छ भने सेल उत्पादन नौ गिगावाटबाट २५ गिगावाटमा तीन गुणा बढेको छ ।

भारतमा आवश्यक खानी र प्रशोधन पूर्वाधार अझै अपुग भए पनि सरकारले खनिज उत्पादन र प्रशोधनमा पहल गरिरहेको छ । राष्ट्रिय सौर्य ऊर्जा महासङ्घका शुभाङ पारेखका अनुसार आपूर्ति शृङ्खला अझै विकास हुँदैछ, तर आगामी वर्षहरू नै भारतको क्षमता कति टाढासम्म पुग्छ भन्ने निर्णायक हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi