Skip to content

लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले वडा नं १ र २ जोड्ने छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण भइरहेको छ । गाउँपालिकाको वित्तीय समानीकरण बजेट विनियोजन गरी वडा नं १ र २ सहित झोङ गुफा र निफुक गुम्बा जोड्ने पक्की मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

यहाँ पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत माघ १० गते माछापुच्छ्रे इञ्जिनियरिङ प्राइभेट लिमिटेडसँग ७८ लाख २० हजार आठ ३६ लागतमा ठेक्का सम्झौता गरेको थियो । आगामी माघ १० गतेसम्म पुल सम्पन्न गरिसक्नुपर्ने म्याद निर्धारण गरिएकाले तीव्रताका साथ काम भइरहेको गाउँपालिकाका सबइञ्जिनियर उदय तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार निर्माणाधीन पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत रहेको छ ।

आठ मिटर लम्बाइ र पाँच मिटर चौडाको पक्की पुल निर्माण भइरहेको बताउँदै तिमिल्सिनाले तोकिएको अवधिमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । पुलको दुईतर्फी फाउण्डेसन वालसहित ‘स्लाप’ ढलान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

पुल सम्पन्न भएमा कोरलानाका अवलोकन गरी फर्किने पर्यटकलाई छोसेर न्हेचुङस्थित बिओपी क्याम्प तलबाट मानव निर्मित गुफा अवलोकन गर्न सहज हुने गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए । पुन बनेपछि वर्षायाममा पनि सवारीसाधन ल्याएर यहाँ सहज तरिकाले पुग्न सकिने उनको भनाइ छ ।

पुल निर्माणले गाउँपालिका कार्यालय केन्द्रबाट वडा नं १ र २ लाई जोड्ने भएकाले स्थानीय नागरिकलाई आवतजावतमा सहज हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । लोमान्थाङ गाउँपालिका–१ र २ को छोसेर गाउँ नेपाल–चीन उत्तरी कोरलानाकाबाट १६ किमी दक्षिणमा पर्छ। पछिल्लो समय झोङ गुफा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi