काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलना मुद्दाको सुनुवाइका लागि आज पेसीमा तोकिएको छ ।
मुद्दाको पेशी सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको छ । अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको अदालतको अवहेलना मुद्दा आज पेसी परेको हो ।
अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै झाले मुद्दा दायर गरेकी थिइन् । तत्कालिन समयमा शाहले आदिपुरुष चलचित्रमा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा चलचित्र चल्न नदिने भन्दै हलमा महानगर प्रहरी खटाएका थिए ।
त्यसलगत्तै हल सञ्चालको संस्था चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
तत्कालिन समयमा बालेनले सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश नमान्ने बताएका थिए । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन ।’












प्रतिक्रिया दिनुहोस्