काठमाडौं । पछिल्लो समय वित्तीय अपराधका घट्ना बढ्दै गएका छन् । वित्तीय अपराधमा संलग्न हुनेहरुले पछिल्ला समय अंशबन्डाको नाटक रचना गर्न थालेका छन् । यसको पछिल्लो मतबुत उदाहरण भनेको हिमालयन लाइफ इन्स्योरेन्सको घटना हो ।
हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शुलभ अग्रवालले आफ्ना छोरा कृषिव अग्रवाललाई अंशबन्डा गर्दै सेयर बिक्री गरेका छन् । अग्रवालले ३४ करोड ४२ लाख ८३ हजार ३५८ रुपैयाँको सेयर कराोबार गरेको तथ्य बाहिरिएको छ ।
शुलभले छोरा कृषिवको सेयर २०८२ साउन ८ गतेदेखि साउन २२ गतेसम्म ८ लाख ३ हजार ३१ कित्ता सेयर बिक्री गरेका छन् । १० दिनको अवधिमा अग्रवालले उक्त सेयर बिक्री गरेका हुन् ।
अहिले सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण अभियोगमा व्यवसायी सुलभ अग्रवालको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा उनका छोरा कृषिवमाथी पनि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कारोबारको छानविन गर्दा तानिएका हुन् । अग्रवाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्टका व्यावसायिक साझेदार पनि हुन् । शुलभले कृषिवको सेयर घरायसी नामसारी गरेर बिक्री गरेको तथ्यले देखाएको छ ।
२०८२ जेठ १४ गते शुलभले हिमालयनको ८ लाख ३ हजार ३१ कित्ता सेयर काठमाडौं जिल्ला अदातलको रोहबरमा भएको मिलापत्र बमोजिम कृषिव अग्रवालको नाममा हकहस्तानन्तरण गर्न निवेदन पेश गरेका थिए । जेठ १६ गते शुलभ र कृषिवले हिमालयनको काठमाडौं जिल्ला अदालतमा अंशचलन मुद्दाको मिलापत्र गरेका थिए ।
उनीहरुले अदालतबाट जारी पत्रहरुको प्रतिलिपि लगायत विवरणहरु संलग्न गरी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीमा निवेदन दिएका थिए । जेठ २० गते भृकुटी स्टक ब्रोकिङ्गले सिडिएस एण्ड क्लियरिङ्गलाई विवरणसहित पत्राचार गरेको थियो ।
२० गते सिडिएससीबाट हिमालयन लाइफ इन्स्योरेन्सले १९ गते पठाएको पत्र मार्फत् काठमाडौं जिल्ला अदालतको फैसला अनुसार शुलभको नाममा रहेको सर्वसाधारण समूह तर्फको ८ लाख ३ हजार ३१ कित्ता सेयरको घरायसी नामसारी गर्न भनिएको थियो । सिडिएससीले आईएसआइएन लेभल रोक्का फुकुवा गर्ने निर्णय गरेर सेयर फुकुवा गरेको थियो ।

अध्ययन प्रतिवेदन अनुसार भृकुटी स्टकबाट कृषिव अग्रवालले सेयर बिक्री बापतको ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ असोज ७ गते आरटिजीएस मार्फत कृषिव अग्रवालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पठाएको देखिएको छ ।
सेयर बिक्री गरेर आएको पैसामा असोज १० गते शुलभ अग्रवाललाई २३ करोड रुपैयाँ भुक्तानी भएको देखिएको छ । साउन ९ गते कृषिवको हजुरआमा ललिता अग्रवालको नाममा रकम २ करोड रुपैयाँ भुक्तानी भएको देखिएको छ । असोज १२ गते । ३० गते क्रमशः ७ करोड र ८४ लाख रुपैयाँ जगदम्बा स्टीलस् लिमिटेडलाई भुक्तानी गरेको देखिएको छ । यो अवधिमा उनीहरुले सेयर प्रतिकित्ता ४०४ रुपैयाँदेखि अधिकतम ४५३ रुपैयाँ सम्मको मूल्यमा विक्री भएको देखिएको छ ।
अध्ययन अनुसार अंशचलन मुद्दाको उत्थान र मुद्दाको अन्तिम किनारा गरेको मिलापत्रको कागजको विवरण अनुसार श्रीमान् श्रीमतिको व्यवहारिक कारणबाट शुरु भएको मुद्दामा विवाद उत्थानकर्तासँग मिल्ने र भर्खरै बालिग उमेरमा प्रवेश गरेको व्यक्तिलाई अंशबापत हिमालयनको ८ लाख ३ हजार ३१ कित्ता सेयर हस्तान्तरण गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) को व्यवस्थालाई छली सेयर विक्री गर्ने मनसायले अंश बण्डा गरेको देखिएको छ । यो कारोबार समेत एकै व्यक्तिले गरेको देखिएको छ । ‘कम्पनीका तत्कालिन अध्यक्ष अग्रवालले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) को कानूनी व्यवस्थाको कारण पदमा रही बिक्री गर्न नमिल्ने सेयरलाई अशंबण्डाको प्रपञ्च गरी छोरा कृषिव अग्रवाललाई हकहस्तान्तरण गरी शेयर बिक्री गर्न लगाई प्राप्त रकम पुनः आफैले लिन कानूनी व्यवस्थालाई झुक्याई सेयर बिक्री गरेको कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको जालसाजीयुक्त कारोबार भएको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले शुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएको समयमा धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ३८ को उपनियम (१क) को कानूनी व्यवस्थाको कारण पदमा रही बिक्री गर्न नमिल्ने शेयरलाई अशंबण्डाको प्रपञ्च गरी छोरा कृषिव अग्रवाललाई हकहस्तान्तरण गरी उक्त शेयर बिक्री गर्न लगाई प्राप्त रकम शुलभ अग्रवाल आफैले लिन कानूनी व्यवस्थालाई झुक्याई सेयर बिक्री गरेको कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको जालसाजीयुक्त कारोबार भएको स्पष्ट आधार देखिएको जनाएको छ ।
जसले गर्दा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार ऐनको दफा ९८ अनुसार कसूर गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । साथै, पीडितलाई भएको नोक्सानीसमेत भराउनुपर्ने उल्लेख गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्