काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार त्यस अवसरमा उहाँले नेपाल प्रहरीका भावी नेतृत्वसँग विविध समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो ।
त्यसैगरी, नेपाल–चीन सम्बन्ध, समकालीन विश्व तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।
साथै सहभागीहरूले दुवै देशबीचको सम्बन्धको वर्तमान अवस्था, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे धारणा राखेका थिए ।
राजदूत चाङले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्य आगामी दिनमा अझ उच्च तहमा पुग्ने विश्वास व्यक्त गरे ।
द्विदेशीय सहकार्यले दुवै देशबीचको आपसी विश्वास अभिवृद्धि गर्नुका साथै क्षेत्रीय स्थायित्वमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्