भोजपुर । रामप्रसादराई गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित २१ बुँदे ‘शैक्षिक श्वेतपत्र–२०८३’ जारी गरेको छ । गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक अवस्थालाई सुदृढ बनाउँदै दक्ष, सीपयुक्त तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यका साथ उक्त श्वेतपत्र सार्वजनिक गरिएको हो ।
शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या, जस्तै, विद्यार्थीको घट्दो उपस्थिति, नतिजामा आएको गिरावट, दक्ष जनशक्तिको अभाव, पूर्वाधारको कमीलगायतका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले यो पहल गरिएको गाउँपालिकाले जनाएको छ ।
श्वेतपत्रमार्फत विद्यालय व्यवस्थापन, शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास र अभिभावकको सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने एक/एक जना छात्र र छात्रा तथा माध्यमिक तहका एक सर्वोकृष्ट शिक्षकलाई एक–एक थान ल्यापटप प्रदान गर्ने घोषणा गरेको छ । यसले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै शिक्षकलाई अझ जिम्मेवार र उत्प्रेरित बनाउने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३४ वटा सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट शिक्षक छनोट गरी १० जनालाई जनही १० हजार नगदसहित सम्मान गरिनेछ । कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याउने एक जना छात्र र एक जना छात्रालाई पनि जनही १० हजारसहित सम्मान गर्ने व्यवस्था गरिएको छ । यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थी र शिक्षक दुवैलाई राम्रो प्रदर्शन गर्न थप ऊर्जा दिने विश्वास गरिएको छ ।
श्वेतपत्रमा विद्यालयको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने, शिक्षकको उपस्थितिलाई कडाइका साथ लागू गर्ने, शैक्षिक सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, पुस्तकालय तथा प्रयोगशालाको व्यवस्थापन सुधार गर्ने, सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने, अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्नेलगायत बुँदा समेटिएको बताइएको छ ।
साथै, विद्यालय–अभिभावक–समुदायबीचको सहकार्यलाई मजबुत बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि गाउँपालिकाले शैक्षिक श्वेतपत्र जारी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए।
विकासको पहिलो आधार शिक्षा रहेकाले देश विकासको निम्ति शिक्षालाई सुधार गर्न आवश्यक रहेकाले गाउँपालिकाले यसतर्फ जोड दिएको अध्यक्ष राईले बताए ।
“विकासको पहिलो आधार नै शिक्षा हो”, अध्यक्ष राईले भने “शिक्षा क्षेत्रको गुणस्तर सुधारले मात्र समग्र विकासलाई गति दिन सक्छ । त्यसैले २१ बुँदे श्वेतपत्रमार्फत हामीले ठोस योजना अघि सारेका छौँ । यसको प्रभावकारी कार्यान्वयनमा सबैको साथ आवश्यक छ ।”
गाउँपालिकाले जारी गरेको उक्त श्वेतपत्रले स्थानीय तहमा शिक्षा सुधारको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । यसको प्रभावकारी कार्यान्वयन भएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधारका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन देखिने स्थानीय जानकारहरुको भनाइ छ ।
(((
प्रतिक्रिया दिनुहोस्