काठमाडौं । नेपालमा आयात हुने विद्युती सवारी साधानमा कर छली भएको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदनले विद्युतीय सवारी साधानको पिक मोटर पावर कम देखाएर कर छली भएको देखाएको छ ।
महालेखाका अनुसार आधिकारिक उत्पादकले प्रकाशन गरेको सवारीसाधनको प्राविधिक स्पेसिफिकेसन तथा मोटर क्षमता जाँच, डाइनामोमिटर टेष्ट तथा ती सवारीसाधन उत्पादक देशका निर्धारित मापदण्डसमेतको परीक्षणबाट मोटर क्षमताको प्राविधिक परीक्षणसमेत गरी रसुवा भन्सार कार्यालयबाट १ अर्ब २७ करोड २७ लाख ९१ हजार र तातोपानी भन्सार कार्यालयबाट १ अर्ब २३ करोड ५५ लाख २५ हजार समेत गरी २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ कर छली भएको छ ।
यो छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल गर्न महालेखाले सुझाव दिएको छ । विद्युतीय सवारीसाधन भन्सार महसुल ऐन, २०८१ को अनुसूची ३ बमोजिम पैठारी भएका विद्युतीय सवारीसाधनको पिक मोटर पावर ५० देखि १०० किलोवाटसम्म भएमा जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, १५ प्रतिशत अन्त:शुल्क र मूल्य अभिवृद्धि कर तथा मोटर क्षमता १०० देखि २०० किलोवाट भएमा भन्सारबाट जाँचपास गरी ३० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्त:शुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था छ ।
विभिन्न पैठारीकर्ताले विद्युतीय सवारीसाधन पैठारी गर्दा पेस गरेको बीजकमा पिक पावरको आधारमा भन्सार जाँचपास हुने गरेको छ । तर जडित मोटरको क्षमताको प्राविधिक जाँच गर्ने गरेको पाइएको छैन । यस सम्बन्धमा यातायात व्यवस्था विभागबाट मोटर क्षमता जाँच नगरी केवल ती सवारीसाधन सडकमा चल्न सक्ने सक्षमताको प्रमाणपत्र मात्र दिने गरेको पाइएको छैन् ।
विभिन्न पैठारीकर्ताले पिक मोटर पावरको क्षमता घोषणा गरे पनि प्राविधिक परीक्षण नभएको साथै उत्पादक देशको मापडण्डबमोजिम विद्युतीय सवारीसाधनका उत्पादक वा अन्य आधिकारिक स्वतन्त्र जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने परीक्षण रिपोर्ट संलग्न नभइको पाइको छ ।
ती सवारीसाधनको उत्पादक कम्पनीको वेबपेजमा रहेका क्याटलग तथा अन्य देशमा गरेको निर्यातको विवरणको आधारमा पैठारी भएका विभिन्न मोडलका सवारीसाधनहरू १०० किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताको समेत रहेको देखिन्छ । सो बममोजिम भन्सारबाट जाँचपास गर्नुपर्नेमा रसुवा र तातोपानी भन्सार कार्यालयबाट पैठारी भएका सवारीसाधनहरूको घोषणाबमोजिम क्षमता ९९।९ र १०० किलोवाट उल्लेख गरी जाँचपास भएको पाइएको छ ।
तातोपानी तथा रसुवा भन्सार कार्यालयबाट एक पैठारीकर्ताले चीनबाट पैठारी गरेको जिकर एक्स मोडलको सवारीसाधन पिक मोटर पावर २०० किलोवाट उल्लेख गरी भन्सारबाट जाँचपास गरेको छ । उक्त सवारीसाधन उत्पादकको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ६६ किलोवाट, अधिकतम टर्क ५१२ एनएम, रियर हिल ड्राइभ र पिक मोटर क्षमताको हकमा २७२ पिएस-प्फर्डस्टर्क (अश्व शक्ति) अर्थात् २००.०६ किलोवाट हुने देखिन्छ । २०० देखि ३०० किलोबाट सम्ममा ६० प्रतिशत भन्सार महसुल, ३५ प्रतिशत अन्त:शुल्क लगाउनुपर्नेमा न्यून दरबन्दी लगाई जाँचपास गर्दा छुट भएको पाइएको छ ।
तातोपानी भन्सार कार्यालयको १९ करोड ६७ लाख ३० हजार तथा विभिन्न पैठारीकर्ताले पैठारी गरेका डिपल र ज्याक्व जे ६ एभटर ११ र एक्स पिङ्ग मोडलका सवारीसाधनको आधिकारिक कम्पनीको वेबपेजमा उपलब्ध क्याटलगको विवरणमा डिपल ई०७ पिक मोटर पावर २५२ किलोवाट र ज्याकब जे६ को पिक मोटर पावर २०५ किलोवाट र अन्यको २०० भन्दा बढी किलोवाट भएकोमा २०० भन्दा कम क्षमताको मोटर देखाइ पिक मोटर पावर १०० देखि २०० किलोवाट जाँचपास गर्दा छुट भएको तातोपानीको ९ करोड २१ लाख २५ हजार र रसुवा भन्सार कार्यालयको ८१ करोड २० लाख ८८ हजारसमेत ९० करोड ४२ लाख १३ हजारसहित १ अर्ब १० करोड ९ लाख ४३ हजार यकिन गरी असुल गर्नुपर्ने जनाएको छ ।
तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले चीनबाट नामी बक्स गाडी पैठारी गरेकोमा पिक मोटर पावर ५० किलोवाट उल्लेख गरी जाँचपास गरेको छ । उक्त गाडीको वास्तविक पिक मोटर पावर सम्बन्धमा यातायात व्यवस्था विभागले समेत परीक्षण गरेको छैन । ती गाडीको उत्पादक कम्पनीको नेपाली संस्करण डोफेङ्ग नेपालको वेबपेजमा उपलब्ध ब्रोसरमा उक्त सवारीसाधनको अन्य सबै विशेषता समान रहेको र पिक मोटर क्षमता ७० किलोवाट रहेको देखिएको छ ।
पैठारीकर्ताले समेत अन्य विभिन्न कारोबारमा सोही मोडलको सवारीको पिक मोटर क्षमता ५० देखि १०० सम्म रहेको भनी जाँचपास गरेको देखिएको छ । तसर्थ उक्त सवारीसाधनलाई विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यानबाट जाँचपास गरी भन्सार महशुल २० प्रतिशत र अन्त:शुल्क १५ प्रतिशतअनुसार हुने महसुल १७ करोड ४१ लाख २९ हजारका सम्बन्धमा छानबिन गरी असुल गर्न सुझाव दिएको छ ।
तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले चीनबाट पैठारी गरेको एक्स३०एलईभी प्यासेन्जर भ्यान को पिक मोटर पावर ५० किलोवाट देखाई जाँचपास गरेको छ। उक्त सवारीसाधनको उत्पादक वा अन्य स्वतन्त्र जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने टेष्ट रिपोर्ट संलग्न छैन । उत्पादक कम्पनीसमेतको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ४१।८६ तथा ३२।१४ किलोवाट र भ्यानको कुल पिक मोटर पावर ६० किलोवाट रहेको देखिएको छ ।
नाडा अटो शोको अनलाइन ब्रोसर र वेबपेजमा समेत उक्त भ्यानको पिक मोटर पावर ६० किलोवाट रहेको उल्लेख भएको आधारमा विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान० अन्तर्गत जाँचपास गरी भन्सार महसुल २० प्रतिशत र अन्त:शुल्क १५ प्रतिशत लगाई छुट भएको ९ करोड ८० लाख ५१ हजार छानबिन गरी असुल गर्नुपर्छ ।












प्रतिक्रिया दिनुहोस्