काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले संस्थाको विधान र गतिविधिबारे भ्रामक तथा अनर्गल प्रचार नगर्न उपमहासचिव प्रकाश दुलाललाई चेतावनी दिएका छन्।
अध्यक्ष कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा इप्पानको विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको भन्ने दुलालको सार्वजनिक अभिव्यक्तिलाई कपोलकल्पित, भ्रामक र संस्थाको प्रतिष्ठामाथि आघात पुग्ने खालको भएको बताएका छन्।
हाल ७०० भन्दा बढी सदस्य कम्पनी रहेको इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते आयोजना हुँदैछ। विज्ञप्तिअनुसार २०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते बुझाएको थियो।
त्यसपछि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले प्रतिवेदनमाथि छलफल गर्दै कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको थियो। तर महासंघमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि वैशाख ४ गते बसेको २००औँ कार्यसमिति बैठकले विद्यमान इप्पान विधान–२०७८ अनुसार नै २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले स्पष्ट पारेका छन्।
यस्तै, जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको जनाएको छ। प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अन्त्य गर्ने, विधानअनुसार योग्य भएका कार्यसमितिका सदस्यलाई अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने व्यवस्था गर्ने तथा अन्य सबै पदमा खुला प्रतिस्पर्धाको अवसर दिने विषय समावेश छन्।
विज्ञप्तिमा विधान संशोधन तथा पुनर्लेखन समितिको प्रतिवेदन र विभिन्न सरोकारवालाबाट प्राप्त सुझावहरू इप्पान सचिवालयमा सुरक्षित रहेको उल्लेख गर्दै विधान हराएको भन्ने दाबी पूर्णतः असत्य रहेको बताइएको छ।
इप्पानले आगामी साधारणसभा तथा अधिवेशन कार्यसमितिको निर्णय र प्रचलित विधानअनुसार वैधानिक रूपमा आयोजना हुन लागेको स्पष्ट पार्दै ऊर्जा व्यवसायीहरूलाई भ्रममा नपर्न र अधिवेशनलाई सफल बनाउन सक्रिय सहभागिताको आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्