काठमाडौं । नेपालको चिया निर्यातमा भएको अवरोध र उद्योग बन्न हुने स्थितिप्रति निर्यात व्यवसायी महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको अर्थतन्त्र, कृषि र विशेष गरी पूर्वी पहाडी क्षेत्रको जीविकोपार्जनको मुख्य मेरुदण्डको रूपमा रहेको नेपाली चिया उद्योगले हाल भारतद्वारा सिर्जित गैर–भन्सार अवरोधका कारण जटिल परिस्थितिको सामना गरिरहेको स्मरण गराएको छ ।
भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको ’स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपालबाट हुने चिया निर्यात हाल पूर्ण रूपमा ठप्प भएको छ ।
यस्तो अवरोधका कारण पूर्वी नेपालका ५३ वटा चिया कारखानाहरू बन्द हुने अवस्थामा पुगेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । पटक–पटक सिर्जना हुने यस्ता अवरोधले हजारौँ किसानको रोजगारी, उद्यमीहरूको अर्बौँको लगानी र देशको निर्यात व्यापारमा अपूरणीय क्षति पुर्याएका महासंघको ठहर छ ।
महासंघले परराष्ट्र मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग तदर्थ समाधानभन्दा माथि उठेर दीर्घकालीन कूटनीतिक र व्यापारिक निकासका लागि जोडदार माग गरेको छ । चिया निर्यातको गतिरोध फुकाउन परराष्ट्र र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल नेपाल–भारत वाणिज्य सचिवस्तरीय वा प्राविधिक कमिटीको आकस्मिक बैठक बोलाउनु पर्ने माग गरेको छ ।
नेपालका प्रधानमन्त्री तथ मन्त्रीहरूले भारतीय समकक्षीहरूसँग सिधै कूटनीतिक संवाद गरी चियाको निर्यातलाई पूर्ववत् अवस्थामा फर्काउन संवाद गर्नुपर्ने माग गरेको छ । नेपाली चियाको गुणस्तर परीक्षणलाई लिएर बारम्बार हुने प्राविधिक अवरोधको दीर्घकालीन समाधानका लागि दुई देशबिच म्युचल रिकग्निसन एग्रिमेन्ट गरि नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको प्रमाणपत्रलाई भारतले स्वत: मान्यता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरेको छ ।
नेपालका केन्द्रीय प्रयोगशालाहरूलाई अन्तर्राष्ट्रिय स्तरको र भारतको चिया बोर्ड वा एफएसएसएआई द्वारा मान्यता प्राप्त हुने गरी स्तरोन्नति गर्न सरकारले तत्काल विशेष बजेट र लगानी घोषणा गर्नुपर्ने माग गरेको छ । यस्तै संकटमा परेका चिया उद्योग तथा किसानहरुको संरक्षणका लागि सरकारले आवश्यक राहत दिनुपर्ने र बैकल्पिक बजार खोजीमा सरकारले सहजीकरण गर्नुपर्ने माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्