काठमाडौं । भक्तपुरको जय शम्भु डेरी उद्योगले चितवनको भरतपुरस्थित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाले व्यवसायिक हित प्रतिकुल कार्य गरेको जनाएको छ । सहकारी संचालकले आफ्ना कमजोरी लुकाउन कारोवार सकिएको दुई वर्षपछि उद्योगले भुक्तानी नदिएको भन्दै किसानलाई भ्रमित बनाएको उद्योगका अध्यक्ष कृष्णगोपाल सैंजुले बताएका छन् ।
आइतवार प्रेस बिज्ञप्ति जारी गर्दै उद्योगका अध्यक्ष सैंजुले उद्योगले सहकारीलाई कुनै भुक्तानी बाँकी नराखेकोले भ्रमित नबन्न आग्रह गरेका छन् । ‘उद्योग र सहकारीबीचको सम्झौता बमोजिम खरिद गरिएको दुधको कुनै पनि रकम भुक्तानी गर्न बाकी छैन’ उनले भने ।
सम्झौता बमोजिम खरिद गरेको दुधको रकम २०८० साल मङ्सिर २४ गते सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशव पण्डित र व्यवस्थापक सागर पराजुली तथा डेरी उद्योगका तर्फबाट अध्यक्ष कृष्णगोपाल सैंजु र लेखापाल जेनिस सुवालले हस्ताक्षर गरी हिसाब रफादफा गरेको प्रमाणसमेत देखिन्छ । त्यसयता प्रत्येक १५ दिनमा दुध वापतको रकम अनलाइन र बैंकिंग प्रणाली मार्फत भुक्तानी गरेको प्रमाण पनि डेरी उद्योगसंग सुरक्षित रहेको छ ।
दुई पक्षबीच भएको सम्झौताको पाचौं सर्तमा दुधको फ्याट ४ प्रतिसत र एसएनएफ ८ प्रतिसत नपुगेको अवस्थाम दुधको मूल्य गुणस्तरको आधारमा निर्धारण हुनेछ भन्ने स्पष्ट उल्लेख छ । यस्तो अवस्थामा दुधको मूल्य चलनचल्तीको आधारमा कायम गरी नियमित भुक्तानी गरिएको र सहकारी संस्थाले चित्त बुझाई प्रत्येक १५ दिनमा हिसाव मिलान गरिएको अध्यक्ष सैंजुले बताएका छन् ।
उद्योगले शुरुमै १८ लाख रुपैयाँ पेश्की दिइ दुध खरिद गरेको र संस्थालाई गुणस्तर कम हुँदामौखिक मात्र नभई लिखित पत्राचार गरी प्रत्येक १५ दिनमा सम्झौता बमोजिम हिसाब फ़र्छौट गरिएको उनले स्पष्ट पारे ।ुु संस्थालाई चित्त नबुझे कसरी नियमित आपूर्ति गर्छ ?’ उनले उल्टै आश्चार्य प्रकट गरेका छन् ।
प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थामा नेतृत्व परिवर्तन भएसंगै अध्यक्ष भएका आनन्द निउरेकै नेतृत्वमा उद्योगले भुक्तानी नदिएको भन्दै अध्यक्ष सैंजुलाई व्यक्तिगत अपमान, गालीगलोज र मानहानी गरिएकोप्रति प्रेस विज्ञप्तिमार्फत उद्योगले ध्यानाकर्षण भएको बताएको छ । सामाजिक संजालको प्रयोग गरी भएका यस्ता कार्य बिरुद्ध कानुनी उपचार खोज्न बाध्य हुने उद्योगको चेतावनी समेत छ ।
प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाले पुरानो संचालक समितिको कारोवारलाई आन्तरिक पुष्ट्याई गर्नुपर्नेमा व्यवसायीलाई भुक्तानी नदिएको भन्दै आरोपित गरेको अध्यक्ष सैंजुले बताए । जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेपछि छलफलको लागि जाँदा गत बिहीवार सहायक प्रमुख जिल्ला अधिकारीकै अगाडी सहकारीका अध्यक्ष निउरेकै नेतृत्वमा भुक्तानी बाकी नरहेको प्रमाण च्यात्ने र दुर्व्यवहार गर्ने कार्य भएको उद्योगका एक संचालक विष्णुभक्त सिन्तकलाले बताए । उद्योग विरुद्ध बिना प्रमाण उजुरी गरिएको र आफूहरुसंग भएको प्रमाणसमेत नष्ट गर्ने प्रयास गरिएको उद्योगको आरोप छ ।
उद्योगले दुग्ध किसान र डेरी उद्योग एक अर्काका परिपुरक भएका भन्दै सहकारी संस्थाले आफ्ना विषय कानुन बमोजिम राख्नुपर्नेमा शक्ति र भ्रमको खेती गरेको आरोप लगाएको छ । दुध उत्पादक किसान र आम जनसमुदायलाई भ्रमित नबन्न प्रेस बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्