काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर (विदेशी मुद्रा सटही) कारोबारको इजाजतपत्र खारेजी प्रक्रियामा रहेको जानकारी दिएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रालिले आफ्नो कारोबार बन्द गर्ने निवेदन दिएको जानकारी गराएको हो।
नेपाल राष्ट्र बैंकको मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम कम्पनीले कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेजी प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।
सूचनाअनुसार उक्त मनिचेञ्जरसँग कसैको लेनदेन, दाबी वा अन्य कुनै सरोकार भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंक धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
राष्ट्र बैंकले सम्बन्धित सबै पक्षको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको हो। निर्धारित अवधिभित्र कुनै दाबी वा सरोकार प्राप्त नभए विनियमावलीअनुसार राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारसम्बन्धी इजाजतपत्र खारेज गर्ने प्रक्रिया अगाडि बढाइने राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्