Skip to content

अप्ठ्यारो अवस्थामा बीमा प्राधिकरण मूकदर्शक, हिमालयन लाइफका अध्यक्षले टेरेनन् नियामकको निर्देशन

५ बीमा कम्पनीले विशेष साधारणसभा गर्नुपर्ने

काठमाडौं । आधा दर्जन बीमा कम्पनीमा ११ दिनदेखि नेतृत्व विहीन हुँदा पनि नियामक निकाय बीमा प्राधिकरण मूकदर्शक बनेर बसेको छ । ५ माइक्रो लाइफ इन्स्योरेन्स र १ लाइफ इन्स्योरेन्समा विगत ११ दिनदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा उसको अनुपस्थितमा हुनुपर्ने कामु सीईओ नहुँदासम्म प्राधिकरण भने मूकदर्शक बनेर बसेको छ ।

यस्ता कम्पनीमा तत्काल कामु नियुक्त गर्न निर्देशन दिनु पर्नेमा दिन सकेको छैन । ५ वटा माइक्रो लाइफमा सञ्चालक र उच्च व्यवस्थापन छैनन् । तर, अध्यक्ष भएको हिमालयन लाइफ इन्स्योरेन्समा समेत उपलब्ध भएका पहिलो तहका कर्मचारीलाई कामुको जिम्मेवारी दिनु र त्यसको जानकारी प्राधिकरणलाई समेत जानकारी गराउनु भनेर प्राधिकरणले भन्न सकेको छैन ।

प्राधिकरणले अहिलेसम्म गरेको भनेको हिमालयन लाइफका अध्यक्ष नारायण बजाजलाई प्राधिकरणको संस्थागत सुशासन निर्देशिकाको निर्देशन ३३ को उप निर्देशन ३ मा रहेको व्यवस्थाको जानकारी मात्रै गराएको छ । उक्त निर्देशनमा तीन महिनाका लागि वरिष्ठ कर्मचारीलाई निमित्त तोक्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बारे कम्पनीलाई जानकारी मात्रै गराएको प्राधिकरण स्रोतले बताए ।

“अहिलेको अवस्थामा प्राधिकरणले कम्पनीलाई निर्देशिकामा भएको व्यवस्था जानकारी गराउने मात्रै होइन, यो नियम अनुसार वरिष्ठ कर्मचारीलाई कामु दिनु भनेर निर्देशन दिनु पर्ने हो” प्राधिकरणका एक कर्मचारीले भने, “यो बेलामा पनि प्राधिकरणका उच्च अधिकारीहरू हिमालयन लाइफसँग किन डराएका हुन् । वा केही लाभ लिनु पर्ने भएर हो वा उनीहरूको आफन्त कोही त्यो कम्पनीमा कर्मचारी भएर हो निर्देशनको जानकारी मात्रै गराएका छन् ।”

कम्पनी नै धराशायी बन्न लागेको अवस्थामा प्राधिकरणले स्पष्ट रूपमा कामु तोकेर काम गर्न लिखित निर्देशन दिनुपर्ने ती कर्मचारीको भनाइ छ । यसअघि प्राधिकरणले कम्पनीका अध्यक्षलाई मौखिक रूपमा कामु दिनु भनेर निर्देशन दिएको थियो । त्यो मौखिक निर्देशन हिमालयन लाइफका अध्यक्ष बजाजले कार्यान्वयन गरेका छैनन् ।

निर्देशन कार्यान्वयन नगर्दा पनि निरीह बनेको प्राधिकरण निर्देशिका जानकारी गराएर मात्रै बसेको निकट स्रोतको दाबी छ । अहिले कम्पनीको दैनिक कामहरूमा समेत प्रत्यक्ष असर परिरहेको गुनासो बढ्न थालेको छ । व्यावसायिक हिसाबले असार महिना निकै संवेदनशील महिना पनि हो । यस्तो समयमा कम्पनीमा नेतृत्वकर्ता नहुँदा कम्पनीको अस्तित्वमा प्रश्न उठ्ने कर्मचारीहरूको गुनासो छ ।

कम्पनीमा सञ्चालन व्यवस्थापक नहुँदा काम गर्न गाह्रो भयो भन्दै अभिकर्ताहरूले गुनासो गर्न थालेका छन् । हिमालयन लाइफ इन्स्योरेन्समा त पेसागत बीमा अधिकर्ता संघ नेपालले तत्काल निमित्त कार्यकारी प्रमुख तोक्न माग गर्दै आन्दोलन सुरु गरिसकेको छ । संघले पहिलो चरणमा १३ गतेसम्मका लागि आन्दोलनको घोषणा गरेर आन्दोलन जारी राखेको छ । उनीहरूको माग कम्पनीमा कामु सीईओ नियुक्त रहेको छ । तर, अध्यक्षले भने मानेका छैनन् ।

बीमा व्यवसायको आवरणमा बीमा कम्पनीका उच्च पदस्थहरू कानुन विपरीतका वित्तीय कारोबारमा संलग्न भएपछि अहिले करिब आधा दर्जन बीमा कम्पनी सञ्चालनमा निकै चुनौतीपूर्ण अवस्थामा छन् । केही कम्पनीमा मुद्दा लागेर सञ्चालक तथा व्यवस्थापक बाहिरिएका छन् भने केही कम्पनीमा भएका सञ्चालक पनि धमाधम छोड्न थालेका छन् ।

हिमालयन रिइन्स्योरेन्सका सञ्चालक दीपक कुमार मिश्रलाई संस्थापक सेयरधनी कालिका फिन्कोर्प प्रालिले फिर्ता बोलाएको छ । यस्तै अर्का सञ्चालक पृथ्वीराज थापालाई पनि टेलि डिरेक्ट प्रालिले फिर्ता बोलाएको छ ।

कम्पनीका कामु सीईओ मुकेश कुमार कपुर एक साता पनि कामुमा टिकेनन् । । असार ३ गते नियुक्त भएर ८ गते राजीनामा दिए । अब हिमालयन रिमा व्यवस्थापन तर्फ कार्यकारी निर्देशकमा सन्तोष केसी मात्रै बाँकी छन् । सीईओ, डीसीईओ र २ जना कार्यकारी निर्देशक पद रिक्त छ ।

माइक्रो लाइफले विशेष साधारणसभा बोलाउनु पर्ने

विभिन्न कसुरमा अध्यक्ष, सञ्चालक तथा सीईओ निलम्बन भएका ५ वटा माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा बोलाउनु पर्ने भएको छ ।

स्रोतका अनुसार प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्सका अधिकारीहरूलाई कम्पनी ऐनको दफा ८२ मा भएको व्यवस्था अनुसार विशेष साधारणसभा सम्बन्धी व्यवस्थाको मौखिक स्मरण गराएको छ ।

साथै प्राधिकरणको सुशासन निर्देशिकाको निर्देशन ३३ को उपनिर्देशन ३ को कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

कम्पनी ऐनको दफा ८२ को उपदफा ३ मा कम्पनीको चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत सेयर लिने शेयरधनीहरु वा शेयरधनीहरुको जम्मा सङ्ख्याको कम्तीमा २५ प्रतिशत शेयरधनीहरुले कारण खुलाई विशेष साधारण सभा बोलाउन कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन दिई माग गरेमा सञ्चालक समितिले त्यस्तो माग गरेको मितिले बढीमा ३० दिनभित्र बस्ने गरी कम्पनीको विशेष साधारण सभा बोलाउनु पर्नेछ भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्राधिकरणले विशेष सभा बोलाउन सर्कुलर जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ २८ गते करिब आधा दर्जन बीमा कम्पनीमा सञ्चालक तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूलाई बीमा र धितोपत्र कसुरमा मुद्दा चलाएपछि यी कम्पनीहरू अहिले सञ्चालनका लागि निकै चुनौतीको सामना गरिरहेका छन् ।

जेठ २८ गते मुद्दा दायर भएपछि प्राधिकरणले असार ३ गते गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि(इन्स्योरेन्स र हिमालयन लाईफ इन्स्योरेन्सलाई पत्र पठाउँदै मुद्दा लागेका सबै निलम्बित भएको जानकारी गरायो । त्यसपछि अहिले कतिपय कम्पनी एक जना उच्च व्यवस्थापक र एक, दुई जना सञ्चालकले सञ्चालन गरिरहेका छन् । यस्तै ५ माइक्रो इन्स्योरेन्समा भने सबै निलम्बनमा परेका छन् ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, तत्कालीन सञ्चालक रोहित गुप्ता, शाहिल अग्रवाल, अमित मोर,राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनाला, तत्कालीन सीईओ उपासना पौडेललाई मुद्दा लागेको छ । उनीहरू अहिले कम्पनीमा छैनन् ।

यस्तै हिमालयन लाइफमा अध्यक्ष नारायण बजाज र एक जना सञ्चालक दीपक नेपाल बाँकी छन् । हिमालयन लाइफका तत्कालीन अध्यक्ष शुलभ अग्रवाल, तत्कालीन सीईओ मनोज कुमार लाल कर्ण, सञ्चालक लक्ष्मण ज्ञवाली लगायत निलम्बनमा परेका छन् ।

अहिले हिमालयन लाइफले सहायक सीईओ हरि प्रसाद ढुङ्गानालाई कामु सीईओको जिम्मेवारी दिए पनि पूर्ण जिम्मेवारी दिएका छैनन् । प्राधिकरण स्रोतका अनुसार अध्यक्ष बजाजले कामु सीईओलाई पूर्ण जिम्मेवारी दिन आनाकानी गर्दै आएका छन् ।

निलम्बित हुनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा अध्यक्ष उदिप श्रेष्ठ, सञ्चालक उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, त्रिशिला झुनझुनवाला, डा. जयप्रकाश जैसवाल, ज्योति अग्रवाल र नवराज मुडभरि रहेका छन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी, नायब प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रसाद पाण्डे, लगानी सदस्य समीर खरेल फौजदारी अभियोग लागेपछि निलम्बनमा परेका छन् ।

यता प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष किर्तिका अग्रवाल, सञ्चालक दिनेश सरिया, नितेश मालपानी, निरु दाहाल, गणेशराज पन्त, भानुभक्त पोखरेल तथा सीईओ नरेशकुमार रोका निलम्बनमा परेका छन् ।

क्रेस्ट माइक्रो इन्स्योरेन्समा सञ्चालक विदुर पुरी, मृदुला सरिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन तथा लगानी संयोजक रोहित करण वैद्य निलम्बनमा परेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल तथा सीईओ मृगेन्द्रनाथ रिमाल पनि मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् ।

धितोपत्र बजारमा संगठित रूपमा गैर कानुनी कारोबार गरेको पाइपछि विभिन्न बीमा कम्पनीमा अध्यक्ष, सञ्चालक, सीईओ, डीसीईओ लगायत करिब ६० जना विरुद्ध संगठीत ठगी, सम्पत्ति शुद्धीकरण, फौजदारी मुद्दा दायर भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi