काठमाडौं । २०७८ मंसिरमा नेपाली काँग्रेसको चौधौं महाधिवेशन थियो । महाधिवेशनमा तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजाल कांग्रेसको महामन्त्रीमा उम्मेदवार दिए ।
निर्वाचनमा उनलाई पार्टीका मतदाताले प्रयाप्त मत दिएनन् । उनी पराजित भए । उनले पराजित भए लगत्तै मंसिर २९ गते रक्षामन्त्रीबाट राजीनामा दिए । उनले तत्कालिन समयमा नैतिकता देखाएर पार्टीका प्रतिनिधिले नै रुचाएनन् भन्दै मन्त्रीमा किन बस्ने भन्दै आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाए ।
उनी महामन्त्रीमा भारी मतले पराजित भएका थिए । उनले तत्कालिन समयमा सामाजिक सञ्जालमा ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’ भनी लेखेका थिए । उनले त्यो बेला जे भने त्यो पुरा गरे । अहिले साढे ४ वर्षपछि उनले तत्कालिन समयमा दिएको राजीनामा चर्चामा छ ।
अहिले सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनमा केन्द्रीय सदस्यको मत परिणाम आइसकेको छ । परिणाम अनुसार बालेन शाह नेतृत्वका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव केन्द्रीय सदस्यमा पराजित भए ।
उनले खुल्ला केन्द्रीय सदस्यमा ८६९ मत ल्याएर पराजित भए । उनी पराजित भएपछि तत्कालिन समयमा डा. रिजालले देखाएको उच्च राजनीतिक नैतिकताको पाठ मन्त्री यादवले सिक्लान की नसिक्लान ? भन्ने प्रश्न सर्वत्र छ ।
बहालवाला मन्त्री केन्द्रीय सदस्यमा उम्मेदवार बनेको र त्यसमा पनि पराजित भएपछि उनले रिजालको जस्तै नैतिकताका आधारमा मन्त्री पद छोड्ने हुन् वा पदमा आसिन रहनेहुन् भन्ने चर्चा सर्वत्र छ ।









प्रतिक्रिया दिनुहोस्