काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति कार्यान्वयनका क्रममा नेपालको अर्थतन्त्रले आन्तरिक तथा बाह्य दुवै चुनौतीको सामना गर्नुपरेको जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै ढिलो मनसुन, अन्तर्राष्ट्रिय द्वन्द्व लगायतका कारण नेपालको अर्थतन्त्रमा असर परेको जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार विश्व भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति प्रणाली प्रभावित भयो। व्यापार महसुलसम्बन्धी अनिश्चितता, इजरायल–अमेरिका र इरानबिचको युद्धका कारण पेट्रोलियम पूर्वाधारमा भएको क्षति, स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोध तथा इन्धनको मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ।
यसैगरी, आन्तरिक रूपमा नेपालमा मनसुन ढिलो भित्रिनु र असोज महिनाको अत्यधिक वर्षाका कारण कृषि उत्पादनमा कमी आएको राष्ट्र बैंकले उल्लेख गरेको छ। त्यस्तै, २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको असहज परिस्थितिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको, व्यवसाय विस्तार हुन नसक्दा समष्टिगत मागमा दबाब परेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।
यस्तै, वैदेशिक व्यापारमा आएको कमी, सार्वजनिक तथा निजी निर्माण क्षेत्रको सुस्तता, घरजग्गाको कित्ताकाट र विद्युत् खरिद सम्झौतासम्बन्धी अन्यौलता कारण वित्तीय प्रणालीबाट अपेक्षित मात्रामा कर्जा प्रवाह हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ।
राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्नुका साथै विगतमा प्रवाह भएका कर्जाको गुणस्तरमा आएको कमजोरीका कारण निष्क्रिय कर्जा (एनपीएल) अनुपात बढ्दै गएको छ। यसले बैंकहरूको नयाँ लगानी गर्ने क्षमता समेत घटाएको छ।









प्रतिक्रिया दिनुहोस्