Skip to content

गणेश नेपाली आत्मदाह गर्न बाध्य किन भए भन्ने खोजिनुपर्छ: सांसद रन्जु दर्शना

काठमाडौं । सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु न्यौपाने (दर्शना)ले गणेश नेपाली आत्मदाह गर्न बाध्य हुनुको कारणबारे गम्भीर हुन सरकारसँग आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद न्यौपानेले गणेश नेपालीको उपचार खर्च व्यहोर्ने विषयमा मात्र सरकार सीमित रहन नहुने बताएकी छन्। उनले गणेश नेपाली किन आत्मदाह गर्ने अवस्थामा पुगे भन्ने वास्तविक कारणको खोजी गरी त्यसबाट सरकारले नीति निर्माण र कार्यशैली सुधारका लागि सिक्नुपर्ने उल्लेख गरेकी छन्।

उनले दैनिक रूपमा ‘मैले सकिन, मरौं कि क्या हो’ भन्ने सोचसँग संघर्ष गरिरहेका लाखौं युवाको अवस्था सामाजिक तथा आर्थिक संरचनासँग जोडिएको भन्दै मनोपरामर्श मात्र पर्याप्त समाधान नभएको धारणा व्यक्त गरेकी छन्। नागरिकका आधारभूत आवश्यकता पूरा हुने वातावरण निर्माण गर्नु नै मानसिक सुरक्षाको आधार हुने उनको भनाइ छ।

सुकुमबासी व्यवस्थापनको विषयमा पनि सरकारले दुध चुसाइरहेका आमा, सुत्केरी महिला तथा वृद्धवृद्धिप्रति संवेदनशीलता नदेखाएको आरोप लगाउँदै उनले यस विषयमा आफूले प्रतिनिधिसभा र सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराएको उल्लेख गरेकी छन्।

सांसद न्यौपानेले समाजका पिँधमा रहेका श्रमजीवी र गरिब नागरिकको पीडा कम गर्ने नीति तथा कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T