Skip to content

खाना पकाउने ग्यास बुधबारदेखि देशभर भरि सिलिन्डर पाइने, कतिपर्छ मूल्य ?

काठमाडौ‌ । बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो।

नेपाल आयल निगमले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ।

आपूर्तिमा सुधार र उच्च मागको सम्बोधन

विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन्। निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको छ।

यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो। यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ।

मूल्य दुई हजार ६० रुपैयाँ कायम

निगमले भरी सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ। अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ (रु. २,०६०) मा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन्।

उद्योगमन्त्री यादवको सक्रियता र निर्देशनपछि चालिएको यो कदमले चाडपर्व वा बजारमा माग बढ्ने समयमा उपभोक्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। निगमले बजारमा ग्यासको अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई समेत तीव्र बनाउने सङ्केत दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi