काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्त नबुझी क्रेडिट कार्ड प्रयोग नगर्न आग्रह गरेको छ। राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्दा त्यससँग सम्बन्धित सर्त तथा शुल्कबारे राम्रोसँग बुझेर मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।
वित्तीय साक्षरतासम्बन्धी सन्देश सार्वजनिक गर्दै बैंकले समयमै बिल भुक्तानी नगरेमा उच्च दरको ब्याज तथा जरिवाना लाग्न सक्ने भएकाले निर्धारित मितिभित्रै रकम तिर्नुपर्ने जानकारी दिएको छ।
राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको माध्यम हो। कार्ड प्रयोगकर्ताले खरिद तथा नगद झिक्ने सीमा, ग्रेस पिरियड, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण (स्टेटमेन्ट), गुनासो गर्ने प्रक्रिया तथा अन्य सर्त र अवस्थाबारे जानकारी लिएर मात्र कार्ड प्रयोग गर्नुपर्ने बैंकको सुझाव छ।
राष्ट्र बैंकले क्रेडिट कार्डको अनुशासित प्रयोगले सुविधा प्रदान गर्ने भए पनि असावधानीपूर्वक प्रयोग गर्दा अनावश्यक ऋणको जोखिम बढ्न सक्ने जनाएको छ। वित्तीय ग्राहक संरक्षणका लागि सचेत प्रयोगकर्ता बन्न र सुरक्षित रूपमा क्रेडिट कार्ड प्रयोग गर्न पनि बैंकले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्