Skip to content

अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी

काठमाडौं । पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा कमी रहेको आरोप लगाएका छन् ।
उनले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गरे । समाजिक सञ्जाल ‘एक्स’मा गरिएका शृङ्खलाबद्ध पोस्टमार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाए ।
“समझदारीपत्र (एमओयू) उल्लङ्घन गर्न अमेरिकी पक्षले ६० दिन पनि कुर्न नचाहनुले कुनै पनि सम्झौता सफल बनाउन आवश्यक गम्भीरता, दृढता, इच्छाशक्ति र नियतको अभाव देखाउँछ,” उनले लेखे ।
मोघादामले अमेरिकालाई शान्ति र स्थिरताको वास्ता नगरेको आरोप लगाउँदै उसका शान्तिसम्बन्धी आह्वान केवल भाषणबाजीमा सीमित भएको दाबी गरे । राजदूतले वासिङ्टनको वास्तविक उद्देश्य सम्झौता गर्नु नभई कुनै पनि माध्यमबाट अस्थिरता सिर्जना गर्नु रहेको आरोप लगाए ।
इरानप्रति अमेरिकाको विगतको नीतिको चर्चा गर्दै मोघादामले राष्ट्रपति डोनाल्ड ट्रम्पले समकालीन कूटनीतिक इतिहासका दुई महत्वपूर्ण उपलब्धि नष्ट गरेको बताए । उनले सन् २०१५को इरान आणविक सम्झौताबाट अमेरिकाको बहिर्गमन र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीपत्र कार्यान्वयनसम्बन्धी विवादलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।
पाकिस्तानको मध्यस्थतामा भएको उक्त समझदारी पत्रको कार्यान्वयनलाई लिएर पुनः तनाव बढिरहेका बेला इरानी राजदूतको यस्तो भनाइ आएको हो । यस विषयमा अमेरिकी पक्षले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi