काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको अर्जेन्टिनासँग नेपालको व्यापार सम्बन्ध असन्तुलित देखिएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले अर्जेन्टिनासँग १ खर्ब ५ अर्ब ६ करोड ५३ लाख १० हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। सो अवधिमा नेपालले १ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गर्दा १ खर्ब ५ अर्ब ८ करोड ५ लाख ७७ हजार रुपैयाँ बराबरका वस्तु आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म नेपालले अर्जेन्टिनाबाट सबैभन्दा बढी भटमासको कच्चा तेल आयात गरेको छ। ११ महिनामा ५४ करोड ९६ लाख ५७ हजार ४०४ लिटर भटमासको कच्चा तेल ९० अर्ब ११ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको आयात भएको छ।
यसैगरी, यहाँबाट मकै ७ लाख ७८ हजार केजी, सुकाइएको सिमी २ लाख ६७ हजार ६२० केजी, तिल १ लाख ७१ हजार ३०० केजी, धनियाँको बीउ १ लाख २४ हजार ९१० केजी र काबुली चना ७५ हजार १०० केजी आयात भएको छ। यसबाहेक स्पार्कलिङ वाइन, अन्य वाइन, प्रयोगशाला रिएजेन्ट, आँखाको श्रृङ्गार सामग्री, डिओडोरन्ट, स्मार्टफोनलगायतका वस्तु पनि अर्जेन्टिनाबाट आयात भएका छन्।
यता नेपालबाट अर्जेन्टिनातर्फ हुने निर्यात भने निकै सीमित छ। जेठ मसान्तसम्म अन्य विद्युतीय तापीय उपकरण (इलेक्ट्रो–थर्मिक एप्लायन्स) ३२ हजार ३८८ थान १ करोड १४ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।
त्यसैगरी तालवाद्य (ड्रम, झ्याली, जाइलोफोनलगायत) १ हजार ७५६ थान २५ लाख २१ हजार रुपैयाँ, ऊनका गलैंचा ५४ वर्गमिटर १३ लाख ३५ हजार रुपैयाँ, डालमोठ, नमकिन, भुजिया तथा चमेना २ केजी २ हजार रुपैयाँ, अन्य एन्टिबायोटिक औषधि १ केजी २ हजार रुपैयाँ तथा अगरबत्ती ३ केजी १ हजार रुपैयाँ बराबरको निर्यात भएको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्कअनुसार नेपाल–अर्जेन्टिना व्यापारमा आयातको हिस्सा अत्यधिक रहेको छ भने निर्यात केही सीमित वस्तुमा मात्रै केन्द्रित देखिन्छ। विशेषगरी भटमासको कच्चा तेलको ठूलो आयातका कारण दुई देशबीचको व्यापारमा ठूलो अन्तर देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्