काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजार रुपैयाँसम्म ल्याउन लैजान तथा सटही गर्न सकिने व्यवस्था गरेको छ ।
बिहीबार राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजानेसम्बन्धी सूचना जारी गर्दै यस्तो जनाएको हो ।
‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ’ सूचनामा भनिएको छ ।
साथै, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको व्यहोरासमेत पुन:
स्मरण गराएको छ ।
नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी प्रचलित कानुनी व्यवस्थाबारे पुन: स्मरण गराउँदै अमेरिकी डलर ५ हजारसम्म घोषणा नगरी नेपाल ल्याउन सकिने स्पष्ट गरेको जनाएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्थाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँका हकमा सो बराबर हुने रकम तथा अन्य विदेशी मुद्राको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्म) नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन् ।
तर, अमेरिकी डलर ५ हजारभन्दा बढी रकम नगद रूपमा नेपाल ल्याउँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले यसअघि २०७५ असोज ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाअनुसारकै व्यवस्था पुन: स्मरण गराएको हो।
प्रतिक्रिया दिनुहोस्