काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट–डीपी) सेवा अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर सेवासहित विभिन्न विशेष छुट र सुविधा सार्वजनिक गरेको छ।
क्यापिटलले लामो समयदेखि सञ्चालन गर्दै आएको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आफ्ना अधिकांश निक्षेप सदस्य सेवाहरू पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ। साथै, एनआईसी एशिया बैंक लिमिटेडका सबै शाखा कार्यालयमार्फत पनि डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने लगायतका सेवाहरू प्रदान भइरहेको क्यापिटलले जनाएको छ।
ग्राहकमैत्री, सहज र सर्वसुलभ सेवा विस्तार गर्ने उद्देश्यले क्यापिटलले चालु आर्थिक वर्षमा विभिन्न योजना लागू गरेको जनाएको छ।
क्यापिटलका अनुसार नयाँ डिम्याट खाता खोल्ने ग्राहकलाई निःशुल्क डिम्याट खाता उपलब्ध गराइनेछ। साथै, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्क पनि पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ।
विद्यार्थीहरूलाई धितोपत्र बजारप्रति आकर्षित गर्ने र लगानीसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘एनआईसी एशिया विद्यार्थी डिम्याट सेवा’ योजना पनि सञ्चालनमा ल्याइएको छ। यस योजना अन्तर्गत विद्यार्थीहरूले निःशुल्क डिम्याट खाता, पहिलो वर्षको डिम्याट नवीकरण शुल्कमा पूर्ण छुट तथा निःशुल्क मेरो सेयर खाता दर्ता सुविधा प्राप्त गर्नेछन्।
त्यसैगरी, डिम्याट र मेरो सेयर खाताको दीर्घकालीन नवीकरणलाई लक्षित गर्दै क्यापिटलले आजीवन नवीकरण योजना पनि ल्याएको छ। यसअन्तर्गत एकमुष्ट रु. ९९९ तिरेमा डिम्याट खाताको आजीवन नवीकरण तथा रु. १,००० एकमुष्ट भुक्तानी गरेमा मेरो सेयर खाताको आजीवन नवीकरण सुविधा उपलब्ध गराइनेछ। यो सुविधा २०८३ साल श्रावण मसान्तसम्म मात्र लागू हुने क्यापिटलले जनाएको छ।
एनआईसी एशिया बैंकमार्फत डिम्याट खाता खोल्ने ग्राहकका लागि पनि विशेष सुविधा उपलब्ध गराइएको छ। बैंकले तोकेका बचत खाता प्रयोग गरी डिम्याट खाता खोल्ने ग्राहकलाई निःशुल्क डिम्याट तथा मेरो सेयर खाता उपलब्ध गराइनुका साथै पहिलो वर्षको डिम्याट नवीकरण शुल्कमा समेत छुट दिइने व्यवस्था गरिएको छ।
क्यापिटलले पछिल्लो समय आफ्ना सेवालाई थप प्रविधिमैत्री बनाउँदै ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने नारासहित अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराएको जनाएको छ। क्यापिटलको वेबसाइटमार्फत ग्राहकले निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सहज रूपमा खोल्न सक्ने व्यवस्था मिलाइएको पनि जनाएको छ।









प्रतिक्रिया दिनुहोस्