Skip to content

ग्यास अभाव फेरि चर्कियो, डिलरमा उपभोक्ताको लाम

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव फेरि देखिएको छ । विशेषगरी नेपाल ग्यास, एचपी ग्यास, गीता ग्यासलगायतकाब्रान्डका सिलिन्डर सहज रूपमा नपाउँदा उपभोक्ता समस्यामा परेका छन् । विभिन्न डिलर तथा बिक्री केन्द्रमा ग्यास लिन उपभोक्ताको लाम लाग्नथालेको छ ।

नेपाल आयल निगमले भने ग्यासको आयात नियमित भइरहेको जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार असार ३०गतेदेखि पूर्ण तौल (१४.२ केजी) का सिलिन्डर वितरण सुरु भएपछि खाली सिलिन्डर भर्न आउने उपभोक्ताको संख्या बढेकाले बजारमा माग उच्चभएको हो ।

गत फागुनदेखि निगमले आपूर्ति व्यवस्थापनका लागि आधा तौलका सिलिन्डर वितरण गर्दै आएको थियो । चार महिनापछि पूर्ण तौलकोसिलिन्डर बिक्री खुला गरिएसँगै एकैपटक धेरै उपभोक्ता ग्यास भर्न आउँदा अस्थायी अभाव देखिएको निगमको भनाइ छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट कोटा अनुसार ग्यास आपूर्ति भइरहेको छ । चैतमा ३८ हजार मेट्रिक टन ग्यासआयात भएकोमा वैशाखमा ३२ हजार, जेठमा ३३ हजार र असारमा ४४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । साउन १५ गतेसम्म २६हजार मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ ।

सामान्य अवस्थामा नेपालमा मासिक ४५ हजारदेखि ५० हजार मेट्रिक टन ग्यास खपत हुने गर्दछ । बजारमा माग बढेपछि निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट समेत ग्यास वितरण सुरु गरेको छ । टेकु कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसन कालीमाटीमा ग्यास लिन उपभोक्ताको भीडलागेको निगमले जनाएको छ ।

हाल नेपालमा ५९ वटा ग्यास उद्योगले एलपी ग्यास आयात तथा वितरण गर्दै आएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T