Skip to content

अतिलोपोन्मुख वालुङ जातकी छोरी याङकी उक्याब लगानी बोर्डको पहिलो महिला सीईओ

काठमाडौं । अतिलोपोन्मुख ‘वालुङ’ जातिकी महिला याङकी उक्याबलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई यो महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो।

लगानी बोर्डको इतिहासमा उक्याब पहिलो महिला सीईओ बनेकी छन् । अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले उक्याबलाई उक्त पदमा चयन गरेको हो।

विकास अर्थशास्त्रीको पहिचान बनाएकी उक्याब सार्वजनिक नीति, लगानी प्रवद्र्धन र विकास अर्थशास्त्रमा लामो अनुभव बोकेकी विज्ञ हुन । उनले विश्व प्रसिद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति तथा शासनमा स्नातकोत्तर गरेकी छन् । यसैगरी, उनले अमेरिकाको मिजोरी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

उनीसँग लगानी बोर्डमै ६ वर्ष परामर्शदाताका रूपमा ‘प्रोजेक्ट फाइनान्सिङ’ सम्हालेको पूर्वअनुभव छ। यसका साथै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालय (फिजी) मा वरिष्ठ नीतिगत सल्लाहकार, कम्बोडिया तथा नेपालमा विकास अर्थशास्त्री र नीतिगत सल्लाहकारका रूपमा उनले अन्तर्राष्ट्रियस्तरमा काम गरी सकेकी छन् । उनको विज्ञता मुख्यगरी हरित अर्थतन्त्र, जलवायु वित्त, सार्वजनिक–निजी साझेदारी र डिजिटल रूपान्तरणका क्षेत्रमा रहेको छ।

उक्याबको अतिलोपोन्मुख ‘वालुङ’ की महिला हुन् । उनी तिब्बतका लागि नेपालका पूर्व महावाणिज्यदूत तथा पूर्व अञ्चलाधीश (स्व.) जोन्देन उक्याबकी छोरी हुन।

वालुङ जाति नेपालको ताप्लेजुङ जिल्लाको उत्तरी हिमाली भेग—विशेष गरी ओलाङचुङगोला (स्थानीय भाषामा वालुङ), याङ्मा र लेलेप क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति हो।

राष्ट्रिय जनगणनाअनुसार यो समुदायको कुल जनसंख्या जम्मा ४८१ मात्र रहेको छ। संख्यात्मक हिसाबले अत्यन्तै न्यून भएकाले नेपाल सरकारले यस जातिलाई अतिलोपोन्मुख वर्गमा सूचीकृत गरेको छ।

ऐतिहासिक रूपमा वालुङ समुदाय नेपाल र तिब्बतबिचको व्यापारका मुख्य मध्यस्थकर्ता थिए। टिपताला भन्ज्याङमार्फत नुन, उन, खाद्यान्न र जडीबुटीको व्यापार गर्ने यो समुदाय भोट–बर्मेली भाषा बोल्छ र तिब्बती बौद्ध धर्म पालन गर्दछ।

‘लोसार’ पर्व उनीहरूको मुख्य चाड हो। विकट भौगोलिक अवस्था र तीव्र बसाइँसराइका कारण यो समुदायको भाषा र संस्कृति संकटमा परिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima