Skip to content

टाटा गाडीका नक्कली पार्टपूर्जा र लुब्रिकेन्ट कारोबार गर्ने पोते पक्राउ, करोडौं मूल्यका सामान बरामद

काठमाडौं । टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्ट अवैध रूपमा आयात गरी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले राजकुमार पोतेलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मार्दा करोडौं रुपैयाँ मूल्य बराबरका अवैध रूपमा आयात गरिएका भनिएका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्ट बरामद गरेको हो।

यस प्रकरणमा पोतेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको पसलसहित १० वटा गोदाम सिलबन्दी गरेको छ भने बरामद गरिएका सामग्रीबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रहरीका अनुसार पोते यसअघि पनि राजस्व छलिसम्बन्धी मुद्दामा कारबाहीमा परिसकेका व्यक्ति हुन्। प्रहरीले नक्कली पार्टपूर्जाको प्रयोगले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै उपभोक्ताको ज्यान र सम्पत्तिमा क्षति पुग्न सक्ने जनाएको छ। साथै यस्ता गतिविधिका कारण राज्यले राजस्व गुमाउने र वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीसमेत प्रत्यक्ष रूपमा प्रभावित हुने प्रहरीको भनाइ छ।

प्रहरी प्रशासनले देशभर सञ्चालन भइरहेको यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूको खोजी तथा कानुनी कारबाहीलाई थप तीव्र बनाइने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima