Skip to content

परमाणु शक्ति पाकिस्तान, सैन्य शक्ति तुर्की र आर्थिक शक्ति सऊदी एउटै मोर्चामा

सऊदी अरब, तुर्की र पाकिस्तानबीच सामूहिक सुरक्षा तथा रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर भएको छ। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार मक्का शहरमा आयोजित संयुक्त रक्षा शिखर सम्मेलनका क्रममा सऊदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइनेछ। साथै रक्षा सहकार्य, सुरक्षा समन्वय, सैन्य तालिम, प्रविधि आदानप्रदान तथा रणनीतिक साझेदारीलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

यसअघि सऊदी अरब र पाकिस्तानबीच यस्तै प्रकृतिको रक्षा समझदारी रहेकोमा अब तुर्की पनि औपचारिक रूपमा उक्त सुरक्षा संयन्त्रमा आबद्ध भएको हो। विश्लेषकहरूका अनुसार सऊदी अरबको आर्थिक शक्ति, पाकिस्तानको परमाणु क्षमता तथा तुर्कीको विकसित रक्षा उद्योग र सैन्य अनुभवको संयोजनले नयाँ सुरक्षा ध्रुव निर्माण गर्न सक्ने सम्भावना बढाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्वलाई प्रवर्द्धन गर्दै सुरक्षित तथा समृद्ध भविष्य निर्माण गर्ने साझा उद्देश्यका साथ सम्झौता गरिएको उल्लेख गरिएको छ। तीन देशले सामूहिक प्रतिरक्षा क्षमता सुदृढ गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो सम्झौता पश्चिम एसिया क्षेत्रमा बदलिँदो भूराजनीतिक समीकरणका बीच भएको हो। हालै सऊदी अरबले लाल सागर, बाब-अल-मन्देब जलडमरूमध्य र अदनको खाडी क्षेत्रमा व्यापारिक जहाज तथा ऊर्जा आपूर्ति मार्गको सुरक्षाका लागि बहुराष्ट्रिय समुद्री सुरक्षा गठबन्धन घोषणा गरेको थियो। तुर्की र पाकिस्तानले उक्त पहललाई समर्थन गरेका देशमध्ये अग्रणी स्थानमा रहेका छन्।

क्षेत्रीय मामिलाका विज्ञहरूले यो सम्झौताले मध्यपूर्वको शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताएका छन्। पछिल्ला वर्षहरूमा रक्षा उद्योग, ड्रोन प्रविधि, सैन्य उत्पादन तथा व्यापारिक सम्बन्ध विस्तार गर्दै आएका सऊदी अरब र तुर्कीबीचको सम्बन्ध पनि यस सम्झौतापछि अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार नयाँ रक्षा सहकार्यले पश्चिम एसिया तथा मुस्लिम विश्वको सुरक्षा संरचनामा दीर्घकालीन प्रभाव पार्न सक्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T