Skip to content

रुग्ण उद्योगहरूमा सुधार देखिन थाल्यो, ‘आत्मनिर्भर नेपाल’को आधार बलियो बन्दै : प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वर्षौंदेखि बन्द, घाटामा रहेका तथा रुग्ण अवस्थामा पुगेका राष्ट्रिय उद्योग र संस्थानहरूमा सुधारका संकेत देखिन थालेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले राष्ट्रिय उद्योगहरू पुनर्जीवित गर्न सरकारले सुरुदेखि नै सहजीकरण, समन्वय र सुधारका कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै केही संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको दाबी गरेका हुन्।

उनका अनुसार वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ’ मापदण्ड प्राप्त गरेपछि कम्पनीको बिक्री र उत्पादन क्षमता बढेको भन्दै गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको जानकारी दिएका छन्।

त्यस्तै लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादन पनि भएको प्रधानमन्त्रीको भनाइ छ।

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले निगमको सीट उपयोग दर ८६ प्रतिशत पुगेको र ऋणको किस्ता भुक्तानीसमेत नियमित रूपमा भइरहेको बताएका छन्।

यसैगरी दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको बक्यौता भुक्तानी अवधि ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको, दैनिक बिक्री ३५ प्रतिशतले बढेको तथा संस्थानको वित्तीय अनुशासनमा सुधार आएको दाबी गरिएको छ। डीडीसीले निकट भविष्यमै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

सिंहदरबार वैद्यखाना विकास समितिले पनि उल्लेखनीय प्रगति गरेको प्रधानमन्त्री शाहको दाबी छ। उनका अनुसार गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा चार गुणा बढी हो।

प्रधानमन्त्री शाहले इमान्दार नेतृत्व, कानुनको प्रभावकारी कार्यान्वयन र ‘टिमवर्क’का कारण रुग्ण उद्योगहरूमा सुधार सम्भव भएको उल्लेख गर्दै अन्य उद्योगहरूलाई पनि पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

“हामीमा इमान्दारिता र देशप्रतिको समर्पण कायम रहिरह्यो भने रुग्ण अवस्थामा रहेका अन्य उद्योगहरूमा पनि नयाँ जीवन भर्न सकिन्छ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्र निर्माण र राष्ट्रिय उद्योगहरूको पुनरुत्थानका लागि सबै पक्षको रचनात्मक सहयोग, विश्वास र साथ आवश्यक रहेको समेत बताएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T