Skip to content

मन्त्रिपरिषद्का ५ मुख्य निर्णय: सहिद घोषणादेखि नियुक्तिसम्म

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्नेदेखि वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्ति र एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्नेसम्मका निर्णय गरेको हो।
मन्त्रिपरिषद्का मुख्य पाँच निर्णय यस्ता छन्:
१. एम्बुलेन्स र शव वाहनमा कर छुट
नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर ९भ्याट० पूर्ण रूपमा छुट दिने निर्णय सरकारले गरेको छ।विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै स्वास्थ्य तथा अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई कर छुट दिने उद्देश्यले यो निर्णय गरिएको हो।
२. चार जनालाई सहिद घोषणा
सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। सहिद घोषणा हुनेमा सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गणेश कुमार यादव रहेका छन्।
३. काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न सहमति
सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। नेपालमा पोर्चुगलको कन्सुलर सेवा विस्तार हुने भएपछि नेपालमा रहेका पोर्चुगलका नागरिक तथा पोर्चुगलसँग सम्बन्धित कन्सुलर सेवाग्राहीलाई आवश्यक सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती
मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा उनीहरूका परिवारसँग सम्बन्धित विभिन्न विषयमा काम गर्ने बोर्डको नेतृत्व अब उप्रेतीले सम्हाल्नेछन्।
५. एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने
सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको छ। एनसेलको सेयर खरिद–बिक्रीसँग जोडिएका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णयलाई सरकारले महत्त्वपूर्ण कदमका रूपमा अघि बढाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T