Skip to content

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौ्र आएका थिए । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि छिन् ।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरे ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विषयका साथै नेपाल र भारतबीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

साथै सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरे । सेनाध्यक्ष सेठ आज बिहान पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजासमेत गरे ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T