Skip to content

राफसाफमा ढिलाइ गरेको भन्दै नेप्सेले बेनी सेक्युरिटिजलाई तीन दिन निलम्बन गर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर नम्बर ९३ बेनी सेक्युरिटिज प्रालिको सेयर कारोबार तीन कार्य दिनका लागि निलम्बन गरेको छ। तोकिएको समयभित्र राफसाफ तथा फर्स्यौटको काम पूरा नगरेको भन्दै नेप्सेले भदौ ३ गते बुधबारदेखि लागू हुने गरी उक्त कारबाही गरेको हो।

बेनी सेक्युरिटिजले निर्धारित समयसीमाभित्र राफसाफ तथा फर्स्यौट प्रक्रिया पूरा नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निलम्बनका लागि नेप्सेसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार पत्र जारी गर्दै कम्पनीलाई निलम्बन गरिएको जानकारी दिएको हो।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२९(१०) (छ) बमोजिम नेप्सेले बेनी सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गरेको जनाएको छ। निलम्बन अवधिभर उक्त ब्रोकरमार्फत लगानीकर्ताले शेयर खरिद–बिक्री गर्न पाउने छैनन्।

नेप्सेले आफ्नो निर्णयको जानकारी नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित अन्य शाखालाई समेत गराएको छ।

शेयर कारोबारपछि रकम तथा धितोपत्रको राफसाफ समयमै सम्पन्न नहुँदा बजारको नियमित कारोबार चक्र प्रभावित हुने भएकाले नियामकले यस्तो कारबाही गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T