काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको १६ दिन बितिसक्दा पनि उनले पदभार ग्रहण गर्न पाएकी छैनन् ।
मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकले विकास अर्थशास्त्री उक्याबलाई आगामी चार वर्षका लागि लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, नियुक्तिसम्बन्धी आधिकारिक पत्र भने हालसम्म लगानी बोर्डमा पुगेको छैन ।
लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सरकारले सीईओ नियुक्त गरेको औपचारिक पत्र बोर्डलाई प्राप्त नभएकाले पदभार ग्रहणको प्रक्रिया अघि बढ्न सकेको छैन ।
‘सरकारले लगानी बोर्डको सीईओ नियुक्त गरेको आधिकारिक पत्र नै अहिलेसम्म पठाएको छैन । त्यसैले पदभार ग्रहणको प्रक्रिया अघि बढ्न सकेको छैन,’ प्रवक्ता नेपालले भनिन् ।
सरकारले नियुक्तिको निर्णय गरेको दुई साताभन्दा बढी समय बितिसक्दा पनि नियुक्तिपत्र नआएपछि उक्याबको पदभार ग्रहणमा ढिलाइ भएको हो । स्रोतका अनुसार उक्याबले भने आगामी सोमबार लगानी बोर्ड पुगेर पदभार ग्रहण गर्ने तयारी गरेकी छन् ।
सरकारको निर्णयअनुसार उक्याबले आगामी चार वर्ष लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछिन् ।






प्रतिक्रिया दिनुहोस्