काठमाडौं । चालु आर्थिक वर्ष २०८३–८४ सुरु भएको ३४ दिनमै सरकारले १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो ३४औँ दिन बुधबारसम्म सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँ राजस्व जम्मा भएको हो।
कुल राजस्व संकलनमा मूल्य अभिवृद्धि कर (भ्याट) को हिस्सा सबैभन्दा धेरै ३४.०४ प्रतिशत रहेको छ। त्यस्तै आयकरबाट २२.१७ प्रतिशत, अन्तःशुल्कबाट १५.४६ प्रतिशत, भन्सार महसुलबाट १४.५५ प्रतिशत र अन्य शीर्षकबाट १३.७८ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसलाई ‘मिसन १६ खर्ब’का रूपमा अघि बढाउँदै राजस्व चुहावट नियन्त्रण, करको दायरा विस्तार र प्रभावकारी परिचालनमा जोड दिँदै आएका छन् ।
गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्षको लक्ष्य गत वर्षको वास्तविक संकलनभन्दा ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी हो।
प्रतिक्रिया दिनुहोस्