Skip to content

ईभीको प्रयोग बढाऔँ, व्यापार घाटा कम गरौँः उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग बढाएर मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएका छन्।

नाडा अटो शोले हरेक वर्ष नयाँ आयाम थप्दै गएको उल्लेख गर्दै उनले सवारीसाधनमा विश्वस्तरीय सुरक्षा मापदण्ड अपनाउनुपर्नेमा जोड दिए। उनले अटोमोबाइल क्षेत्र सरकारका लागि राजस्व संकलनको महत्वपूर्ण क्षेत्रसमेत रहेको बताए।

डिजेल तथा पेट्रोल खरिदका लागि ठूलो रकम विदेशिने गरेको भन्दै उपराष्ट्रपति यादवले त्यसको विकल्पका रूपमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताए। ईभीको प्रयोग बढ्दा पेट्रोलियम पदार्थ आयातमा खर्च हुने रकम घट्ने र त्यसबाट नेपालको व्यापार घाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

ईभीको प्रयोगले हरित तथा स्वच्छ ऊर्जाको प्रवर्द्धनमा समेत योगदान पुग्ने उनले बताए। त्यसका लागि देशभर पर्याप्त चार्जिङ स्टेसन निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उपराष्ट्रपति यादवले उल्लेख गरे।

यस्तै, अटो पार्ट्सको सम्भावना भएसम्म स्वदेशमै उत्पादन गर्नुपर्नेमा उनले जोड दिए। स्वदेशमै अटो पार्ट्स उत्पादन गर्न सके आयात प्रतिस्थापन हुनुका साथै उद्योगको विकास र रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

उपराष्ट्रपति यादवले विद्युतीय सवारीसाधनको प्रयोगसँगै स्वदेशी उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकता दिन सके अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रका लागि थप महत्वपूर्ण बन्न सक्ने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T