Skip to content

करका दर हेरफेर नगर्न र नीतिगत स्थिरता कायम गर्न सरकारलाई नाडा अध्यक्ष उप्रेतीको आग्रह 

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल क्षेत्रको विकासका लागि सरकारले करका दरमा बारम्बार हेरफेर नगरी नीतिगत स्थिरता कायम गर्नुपर्ने बताएका छन् ।

उनले अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै कर नीतिमा हुने परिवर्तनले व्यवसायी तथा लगानीकर्तालाई समस्या पर्ने बताए । सरकारले लगानीको वातावरण निर्माण गर्न स्थिर र पूर्वानुमानयोग्य नीति लिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष उप्रेतीले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग सुरु भइसकेको भन्दै अब कम्पोनेन्ट उद्योगको विकासमा ध्यान दिनुपर्ने बताए । स्वदेशमै आवश्यक पार्टपुर्जा उत्पादन गर्न सके यस क्षेत्रले थप रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापनमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ ।

उनले नेपालमा अन्तर्राष्ट्रियकरणकाे प्रदर्शनी स्थलको आवश्यकता रहेको पनि बताए । अटोमोबाइल क्षेत्रको विस्तारसँगै अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी तथा कार्यक्रम आयोजना गर्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए ।

सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उप्रेतीले नीतिगत स्थिरता, पूर्वाधार विकास र लगानीमैत्री वातावरणका लागि आवश्यक पहल गर्न सरकारसमक्ष आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T