Skip to content

रिभोल्टको अहिलेसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक ‘आरभीएक्स’ नेपालमा सार्वजनिक

काठमाडौं ।  रिभोल्ट मोटर्सले अहिलेसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक ‘अल न्यू आरभीएक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा उक्त बाइक सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार आरभीएक्समा ४ किलोवाट क्षमताको मिड–ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ। मोटरले अधिकतम ५.३ किलोवाट शक्ति र पांग्रामा २३० एनएमसम्मको टर्क उत्पादन गर्छ। यो रिभोल्टले हालसम्म उत्पादन गरेको सबैभन्दा शक्तिशाली इलेक्ट्रिक बाइक भएको कम्पनीको दाबी छ।

आरभीएक्सले ३.९ सेकेन्डमै शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्नेछ। नयाँ ‘बुस्ट मोड’ प्रयोग गर्दा यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टासम्म पुग्ने कम्पनीले जनाएको छ। बाइकमा ३।२४ किलोवाट घण्टा क्षमताको निकालेर छुट्टै चार्ज गर्न मिल्ने एनएमसी ब्याट्री राखिएको छ। उक्त ब्याट्रीले एकपटक पूर्ण चार्जमा १६० किलोमिटरको आईडीसी रेन्ज दिने बताइएको छ।

फास्ट चार्जरको प्रयोग गर्दा ब्याट्रीलाई ८० मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। निकालेर चार्ज गर्न मिल्ने ब्याट्री भएकाले सामान्य घरायसी विद्युत् सकेटबाट समेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

आरभीएक्समा बुस्ट, स्पोर्ट्स, सिटी र इको गरी चारवटा राइडिङ मोड रहेका छन्। त्यस्तै, अपसाइड–डाउन फ्रन्ट फोर्क, रियर मोनो–सक, ३.५ इन्चको आईपी ६७ रेटेड डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ तथा ओटीए अपडेटलगायतका सुविधा छन्।

बाइकमा कल तथा सन्देशको सूचना, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटरजस्ता सुविधा पनि दिइएको छ। आरभीएक्स पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध हुनेछ।

कम्पनीले आरभीएक्सलाई सीमित अवधिका लागि ३ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा सार्वजनिक गरेको छ। नाडा अटो शोमा रहेको रिभोल्टको प्रदर्शनी कक्ष तथा काठमाडौंको पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुमबाट बुकिङ र परीक्षण सवारी सुरु गरिएको छ।

यसै अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ नामक नयाँ ब्रान्ड अभियान पनि सार्वजनिक गरेका छन्। अभियानले आत्मविश्वासी, महत्त्वाकांक्षी र आफ्नै शैलीमा अघि बढ्न चाहने नेपाली नयाँ पुस्ताका राइडरलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले नेपालमा रिभोल्टप्रति सुरुदेखि नै उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए। उनले आरभीएक्सले नेपाली राइडरलाई शक्ति, प्रविधि, शैली र किफायती सञ्चालन खर्चको संयोजन उपलब्ध गराउने बताए।

रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले नेपाल रिभोल्टका लागि महत्वपूर्ण रणनीतिक बजार रहेको बताउँदै आरभीएक्सले नेपालमा उच्च प्रदर्शनयुक्त विद्युतीय बाइकको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन्।

आरभीएक्स पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुमका साथै वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढीलगायतका प्रमुख शहरमा रहेका एमभी दुगड ग्रुपका शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ। ती शोरुममा विद्युतीय सवारीसाधनका लागि तालिमप्राप्त प्राविधिक, सर्भिस पूर्वाधार तथा मौलिक पार्टपुर्जा र एसेसरिजको सुविधा उपलब्ध हुने बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T