Skip to content

टाटाको सिएरा ईभी नाडा अटो शोमा, ५३० किलोमिटर रेन्जसहितका यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘सिएरा ईभी’लाई नाडा अटो शोमा सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङले मंगलबारदेखि सुरु भएको नाडा अटो शोमार्फत नेपाली बजारमा सिएरा ईभीलाई प्रदर्शनमा ल्याएको हो।

सिएरा ईभीमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको रियर ह्वील ड्राइभ (आरडब्लूडी) भेरियन्टमा १७५ किलोवाट र अल ह्वील ड्राइभ (एडब्लूडी) भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। मोटरले अधिकतम ५०४ एनएम टर्क उत्पादन गर्छ।

बाहिरी डिजाइनमा सिएरा ईभीलाई आधुनिक र आकर्षक एसयूभीका रूपमा तयार गरिएको छ। यसमा फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडलाम्प, फ्लस–टाइप डोर ह्यान्डल, सिग्नेचर रियर क्वार्टर ग्लास तथा १८ इन्चको अलोय ह्वील छन्। रुफ स्पोइलर र शार्क–फिन एन्टेनाले यसको डिजाइनलाई थप आकर्षक बनाएका छन्।

सस्पेन्सनतर्फ अगाडि अल्ट्रा गाइड सस्पेन्सन र पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ प्रविधिले आरामदायी ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ। त्यस्तै, इन्ट्री भेरियन्टमै भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध गराइएको छ।

एक्टी डट ईभी प्लेटफर्ममा आधारित सिएरा ईभीको इन्टेरियर डुअल–टोन थिममा तयार गरिएको छ। यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८ स्पिकर अडियो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ माउन्टेड कन्ट्रोल र किलेस इन्ट्रीजस्ता सुविधा छन्।

कनेक्टिभिटीका लागि आईआरए डट ईभी कनेक्टेड कार सुइट दिइएको छ, जसमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर समावेश छन्। ५जी कनेक्टिभिटी, वायरलेस चार्जिङ तथा १५ वटा मल्टिमिडिया फिचरले पनि सिएरा ईभीलाई प्रविधिमैत्री बनाएको छ।

सुरक्षातर्फ ६ वटा एयरब्यागसहित इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ वटा सुरक्षा फिचर उपलब्ध छन्। सबै पांग्रामा डिस्क ब्रेक राखिएको छ। इन्ट्री भेरियन्टमै रियर पार्किङ सेन्सर र डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा पनि उपलब्ध छ।

यससँगै टाटाको सिएरा ईभीले डिजाइन, रेन्ज, प्रविधि र सुरक्षालाई एउटै प्याकेजमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T