Skip to content

नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं । यामाहाले विभिन्न शैली, आवश्यकता र रुचि भएका नेपाली राइडरलाई लक्षित गर्दै नाडा अटो शो २०२६ मा आफ्ना नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ। नेपालमा यामाहाको उत्पादन दायरामा नयाँ विकल्प थप्दै कम्पनीले यसपटक यामाहा एरोक्स १५५ एस, फेसिनो एस, फेसिनो डिस्क तथा आर १५ एसका नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो।

यामाहा एरोक्स १५५ एस विशेषगरी उच्च कार्यक्षमता र गतिशील सवारी अनुभव मन पराउने राइडरका लागि तयार पारिएको कम्पनीले जनाएको छ। यसको खेलकुद शैलीको डिजाइन, १५५ सीसी इन्जिन र चाबीविहीन प्रविधिले दैनिक प्रयोगमा सहजता प्रदान गर्नेछ। कार्यक्षमता र आकर्षक शैलीसँगै व्यावहारिक स्कुटर खोज्ने राइडरका लागि यो उपयुक्त विकल्प बन्ने कम्पनीको विश्वास छ।

त्यस्तै, शैलीलाई प्राथमिकता दिने ग्राहकका लागि यामाहाले नयाँ फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड भेरियन्ट ल्याएको छ। आकर्षक डिजाइन र दैनिक प्रयोगमा सहज हुने यी हाइब्रिड भेरियन्टले आरामदायी यात्रासँगै राइडरको व्यक्तिगत शैलीलाई समेत प्राथमिकता दिने कम्पनीले जनाएको छ।

आर १५ एस र आर १५ एम भेरियन्टमार्फत यामाहाले आफ्नो लोकप्रिय आर सिरिजलाई थप परिमार्जित रूपमा प्रस्तुत गर्नेछ। ‘नयाँ आर इन्स्टिंक्ट’ अवधारणामा आधारित यी मोटरसाइकलले उत्कृष्ट सडक उपस्थिति र रोमाञ्चक सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। आर १५ सिरिज यसअघि नै नेपालमा यामाहाको कार्यक्षमतामुखी उत्पादनको महत्वपूर्ण हिस्सा रहँदै आएको छ।

यी नयाँ भेरियन्टबारे बोल्दै एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शो नेपाली राइडर समुदायसँग जोडिन महत्वपूर्ण मञ्च भएको बताए। उनले यामाहाले कार्यक्षमता, प्रविधि, शैली र व्यक्तित्वका विभिन्न आवश्यकता पूरा गर्ने उत्पादन ल्याउँदै आएको उल्लेख गरे।

त्यस्तै, एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिअनुसार उत्पादन ल्याउन यामाहा केन्द्रित रहेको बताए। नयाँ एरोक्स १५५ एस, फेसिनो हाइब्रिड भेरियन्ट र आर १५ एसले यामाहाका विभिन्न विशेषता प्रस्तुत गर्ने उनको भनाइ छ।

नाडा अटो शो २०२६ मा यामाहाका यी नयाँ भेरियन्ट आधिकारिक रूपमा सार्वजनिक हुनेछन्। प्रदर्शनीमा सहभागी आगन्तुकले नयाँ उत्पादनलाई नजिकबाट अवलोकन गर्दै यसको कार्यक्षमता, शैली र प्रविधिबारे जानकारी लिन सक्नेछन्।

यामाहाको प्रदर्शनी नाडा अटो शोमा रहेको ब्लु च्याम्बर टीडब्लू ८ र टीडब्लू १० मा रहनेछ। थप जानकारीका लागि यामाहा नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत समेत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T