Skip to content

रसुवामा बाढीबाट घाइते २५ जनाको पहिचान खुल्यो, काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीका कारण घाइते भएका २५ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेहरूलाई उद्धार गरी काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको हो। बुधबार ४ः२० बजेसम्मको विवरणअनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम तथा गम्भीर रहेको छ।

प्रहरीका अनुसार उपचाररत घाइतेमा भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल, रिहाना लामिछाने, दावा डोल्मा, तेजबहादुर तामाङ, पेम्बा तामाङ, कुशल मगर, करिब ४५ वर्षीय कार्की थर भएका पुरुष, करिब ३५ वर्षीय नामथर नखुलेका पुरुष, मिन श्रेष्ठ, गिरीलाल बुढाथोकी, रुपक रोक्का, करिब ३३ वर्षीय नाम नखुलेका पुरुष, सुशान श्रेष्ठ, बलबहादुर घर्ती मगर, अशोक श्रेष्ठ, कामु नगरकोटी, करिब तीन महिनाका नाबालक शिशु, प्रेम दोर्जे, नेमा दोर्जे घले, फुर्पु रामप्रसाद थारु, सुराची राना मगर र रिता दोचा रहेका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन्। रिहानाको दाहिने खुट्टामा मध्यम चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा उपचाररत तेजबहादुर तामाङको दायाँ खुट्टामा चोट लागेको छ भने पेम्बा तामाङको शरीरका विभिन्न भागमा चोट लागेको छ। कुशल मको टाउको र दायाँ हातमा चोट लागेको छ। करिब ४५ वर्षीय कार्की थर भएका पुरुषको शरीरभरि चोट लागेको छ भने करिब ३५ वर्षीय नामथर नखुलेका पुरुषको अवस्था गम्भीर रहेको विवरणमा उल्लेख छ।

मिन श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको छ। गिरीलाल बुढाथोकी र रुपक रोक्कालाई सामान्य चोट लागेको छ। सुशान श्रेष्ठको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ। बलबहादुर घर्ती मगरको टाउको र छातीमा चोट लागेको छ भने अशोक श्रेष्ठलाई सामान्य चोट लागेको छ।

कामु नगरकोटी, उनीसँगै रहेका करिब तीन महिनाका नाबालक शिशु, प्रेम दोर्जे, नेमा दोर्जे घले र फुर्पुको अवस्था सामान्य रहेको विवरणमा उल्लेख छ। रामप्रसाद थारुको टाउको, पेट तथा दायाँ खुट्टामा चोट लागेको छ। सुराची राना मगर र रिता दोचाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अधिकांश घाइते बोल्न सक्ने अवस्थामा छन्। केहीको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक जना घाइते बोल्न नसक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा घाइतेहरूको थप विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T