काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीप्रति दुःख व्यक्त गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपील गरेका छन्।
प्रचण्डले बुधबार बिहान सामाजिक सञ्जालमार्फत बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन्।
उनले स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पूर्ण पालना गर्न पनि आग्रह गरेका छन्। विपद्को समयमा नागरिकको जीवनरक्षा सबैभन्दा पहिलो दायित्व भएकाले उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारसहित सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ।
प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशनसमेत दिएका छन्। उनले स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी उद्धार, राहत तथा मानवीय सेवामा सक्रियतापूर्वक जुट्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीपछि नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन उनले आग्रह गरेका छन्।






प्रतिक्रिया दिनुहोस्