Skip to content

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट थप ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले बुधबार ११९ दिनका लागि उक्त रकम बैंकिङ प्रणालीबाट खिच्न लागेको हो।
यसअघि गत भदौ ५ गते राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो। प्रणालीमा अधिक तरलता देखिएपछि छोटो अवधिमै पुनः ठूलो रकम बजारबाट खिच्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी पुस ८ गते भुक्तानी गरिनेछ।
निक्षेप संकलनमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन्। अधिकतम रकम भने राष्ट्र बैंकले आह्वान गरेको ९० अर्ब रुपैयाँसम्म हुनेछ। बोलकबोल गर्दा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा मात्र आवेदन दिनुपर्नेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T