काठमाडाैं । भोटेकोशी नदीमा आएको बाढीको असर सेयर बजारमा समेत देखिएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा रहेका जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा उच्च गिरावट आएपछि समग्र बजार परिसूचक नेप्से पनि घटेको छ।
बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा झरेको छ। बजारमा विशेषगरी बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् कम्पनीहरूको सेयरमा बिक्री चाप देखिएको छ।
आज रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। त्यस्तै, मोलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशत, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको १२.९५ प्रतिशत, मध्य मेवा खोला जलविद्युत् लिमिटेडको ११.५६ प्रतिशत र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य ११.१८ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँ पुगेको छ।
बजार घट्दा पनि सर्वोत्तम पेन्ट्सको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।






प्रतिक्रिया दिनुहोस्