काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले विपत्तिका बेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर खोजी, उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
प्रचण्डले पछिल्ला बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिको प्रकृति र प्रभाव गम्भीर बन्दै गएको भन्दै यसलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्र लिन नहुने बताए। जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका जोखिम न्यूनीकरणका लागि वैज्ञानिक, प्राविधिक तथा नीतिगत अध्ययन आवश्यक रहेको उनको भनाइ छ।
यद्यपि अहिलेको प्राथमिक दायित्व भनेको नागरिकको जीवन बचाउनु रहेको उनले बताए। खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल र सरोकारवाला निकायबीच प्रभावकारी समन्वयसहित साझा कार्ययोजना बनाउनुपर्नेमा उनले जोड दिए।
हिमाली क्षेत्रमा विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने प्रचण्डले बताए। साथै जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको विषय सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ छ।
प्रचण्डले विपत्तिका बेला राजनीतिक मतभेदलाई केही समय थाती राखेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताए। रसुवाको भोटेकोशी बाढीबाट सिर्जित संकट समाधानका लागि आफ्नो पार्टीले सरकारलाई पूर्ण साथ र सहयोग गर्ने उनले स्पष्ट पारे।
उनले पार्टीका नेता–कार्यकर्तालाई सरकारी निकायसँग समन्वय गरी उद्धार, राहत तथा सहयोगका काममा परिचालन हुन निर्देशन दिइसकेको जानकारी दिए । प्रचण्डले विपत्तिका बेला सबैले साझा संकल्प गर्नुपर्ने भन्दै भने, “विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस्।”






प्रतिक्रिया दिनुहोस्