काठमाडौं । रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल १७ घाइतेको उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ । उपचारका क्रममा विदुर नगरपालिका–१०, नुवाकोटका महेश डङ्गोलको केही दिनअघि मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्