काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
नेपाल आयल निगमका अनुसार सडक कटानका कारण ढुवानीमा समस्या भएपछि नेपाल आयल निगमले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक मार्गबाट ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको हो ।
निगमका अनुसार काठमाडौं तथा आसपासका जिल्लामा एलपी ग्यास बिक्री–वितरण गर्दै आएका उद्योगहरूले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायतका जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी आफ्ना बुलेट खाली गराई त्यहाँबाट सिलिन्डर रिफिल गर्ने व्यवस्था गरिएको छ ।
कृष्णभीरको बाटो सञ्चालनमा नआएसम्म रिफिल गरिएका एलपी ग्यास सिलिन्डर ट्रकमार्फत वैकल्पिक सडकबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ल्याएर आपूर्ति तथा बिक्री–वितरण गरिने निगमले जनाएको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई समेत स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग र अन्य जिल्लाका उद्योगमार्फत आपूर्ति व्यवस्थालाई निरन्तरता दिने प्रयास गरिएको निगमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्