काठमाडौं । नेपालमा हालै आएको भीषण बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि क्यानडा सरकारले ५ मिलियन क्यानाडियन डलर सहयोग गरेको छ। क्यानाडाले संयुक्त कोषमार्फत थप १०० मिलियन क्यानाडियन डलर सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाका परराष्ट्रमन्त्री अनिता आनन्दबीच मंगलबार भएको टेलिफोन वार्तामा नेपालमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित नागरिकको अवस्थाबारे छलफल भएको हो।
वार्ताका क्रममा क्यानडाका परराष्ट्रमन्त्री आनन्दले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाली जनताप्रति क्यानडा सरकारको ऐक्यबद्धता रहेको बताइन्।
नेपालका परराष्ट्रमन्त्री खनालले बाढी तथा विपद् प्रभावितको खोज, उद्धार र राहतका लागि क्यानडा सरकारले उपलब्ध गराएको ५ मिलियन क्यानाडियन डलर सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले संयुक्त कोषमार्फत थप १०० मिलियन क्यानाडियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा पनि क्यानडा सरकारप्रति आभार व्यक्त गरे।
मन्त्री खनालले सरकारले बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए। साथै, बाढीपछि बेपत्ता भएका क्यानाडेली नागरिकको खोजी तथा उद्धारका लागि समेत आवश्यक प्रयास भइरहेको उनले जानकारी दिए।
नेपालमा हालै आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्पछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको छ।







प्रतिक्रिया दिनुहोस्