Skip to content

राष्ट्रियसभा बैठकः राहत वितरणमा ‘एकद्वार’ प्रणालीप्रति सांसदको प्रश्न, प्रभावितले तत्काल राहत पाउनुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड दिएको छ ।

भोटेकोशी विपत्तिपछि बसेको सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्वचेतावनीलाई कडाइका साथ कार्यान्वयन र विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका कमलादेवी पन्तले बाढी पहिरोलगायत विपद्को पूर्वचेतावनीलाई वेवास्ता नगरी तत्काल कार्यमा परिणत गर्न आग्रह गरिन । उनले बेपत्ता नागरिकको खोजी र उद्धारमा सम्पूर्ण शक्ति प्रयोग गर्न तथा जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई सुझाव दिएकी छिन ।

नेपाली कम्युनिष्ट पार्टीका जयन्तीदेवी राईले बाढीबाट प्रभावितलाई तत्काल उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। सोही पार्टीका नरबहादुर विष्टले विपद्को समयमा एकद्वार प्रणालीबाट राहत वितरण गर्दा प्रभावित थप पीडामा पर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

कांग्रेसका नारायणदत्त मिश्रले मुलकको उत्तरी भेकमा रहेका जोखिमपूर्ण हिमतालका बारेमा तत्काल अध्ययन गर्न र विपद् उत्थानशील पूर्वाधार निर्माणको योजना बनाउन सरकारलाई सुझाव दिए ।

नेपाली कम्युनिष्ट पार्टीका मदनकुमारी शाह ‘गरिमा’ ले राष्ट्रिय विपत्तिमा सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा खोज, उद्धार, राहत, पुनर्वास र पुनःनिर्माण गर्न माग गरे । कांग्रेसका युवराज शर्माले कमजोर पूर्वसूचना प्रणालीका कारण ठूलो क्षति भएको उल्लेख गर्दै उक्त प्रणालीलाई अत्याधुनिक बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रलक्ष्मी गैरेले जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको शीघ्र उद्धारमा थप क्रियाशीलता बढाउन सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सुरेशकुमार आले मगरले जलवायु परिवर्तनको कारण भोटेकोशी विपत्ति सिर्जना भएकाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सोनाम ग्याल्जेन शेर्पाले विपद्सँग जुध्न गर्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्नेमा जोड दिँदै बाढी प्रभावितको उद्धारमा सरकारको प्रयासको सरहाना गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T