Skip to content

रसुवा बाढीले ३३ पुल बगायो: ५३ झोलुङ्गे पुलमा क्षति, पुनर्निर्माण तीव्र पार्दै सरकार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढीबाट ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । तीमध्ये ३३ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले पुनर्निर्माण गर्नुपर्ने भएको छ भने सामान्य क्षति भएका २० वटा पुलको मर्मत तत्काल अघि बढाइने भएको छ ।
बाढीका कारण पुल बगेपछि विभिन्न बस्तीबिचको आवागमन प्रभावित भएको अवस्थामा सरकारले तत्काल अस्थायी उपायमार्फत आवागमन सहज बनाउने काम अघि बढाएको छ । विभागका अनुसार पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने काम सुरु गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आइसकेको छ । यस्तै, देवीघाटमा १८० मिटर लामो तुइन आजैदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बेत्रावती र रसुवाका दुई स्थानमा गरी थप तीन स्थानमा भने भोलिदेखि तुइन जडानको काम सुरु गरिने विभागका महानिर्देशक साहले जानकारी दिए ।
सामान्य क्षति भएका २० पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रमा रहेका नौ पुलको मर्मत कार्य भोलिदेखि नै सुरु गरिने भएको छ । मर्मतका लागि आवश्यक डेक बजारबाट खरिद गरी कामलाई तीव्रता दिने विभागको तयारी छ । आगामी २० देखि २५ दिनभित्र मर्मत गर्न सकिने पुलहरूको काम सम्पन्न गरी स्थानीयको आवागमन सहज बनाउने लक्ष्य विभागले लिएको छ ।
तर, पूर्ण रूपमा क्षतिग्रस्त ३३ वटा पुलको पुनर्निर्माणमा भने केही समय लाग्ने देखिएको छ । पुनर्निर्माणका लागि आवश्यक स्टिल वायर रोप हाल मौज्दातमा नरहेको र भारतबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया अघि बढाउनुपर्ने अवस्था रहेको महानिर्देशक साहले बताए ।
त्यसमाथि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण बोलपत्र प्रक्रिया हार्डकपीमार्फत अघि बढाउनुपर्ने अवस्था आएको उनले बताए । यसले पुनर्निर्माणको काममा केही ढिलाइ हुन सक्ने विभागको अनुमान छ ।
बाढीबाट क्षतिग्रस्त स्थानीय पूर्वाधार पुनर्स्थापनाका लागि विभागले प्रारम्भिक लागत अनुमानसमेत तयार गरेको छ । जसअनुसार झोलुङ्गे पुल मर्मतका लागि १५ करोड रुपैयाँ, पूर्ण रूपमा क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ र अवरुद्ध ग्रामीण सडक खुलाउन तथा वैकल्पिक मार्ग निर्माणका लागि ४० करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
मुख्य राष्ट्रिय राजमार्गको तुलनामा ग्रामीण सडकमा तुलनात्मक रूपमा कम क्षति भए पनि स्थानीय तहमा आवागमन र पहुँच सुचारु राख्न विभागले पुनर्स्थापना कार्यलाई प्राथमिकतामा राखेको महानिर्देशक साहले स्पष्ट पारेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T