काठमाडौं । नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीमा बेपत्ताको भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले त्यसपछि सँगसँगै पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
नेता आङ्देम्बेले भने, “यो प्रचार गर्ने समय होइन । प्राण बचाउने समय हो । यो दोषारोपण गर्ने समय होइन । जिम्मेवारी पूरा गर्ने समय हो । यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन । राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो ।”
नेता आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको प्रभाकारी खोज तथा उद्धार गर्न, हिजोको भूकम्पमा भएको उद्धार र खोजको अनुभावबाट सिक्न, उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुन्न, सबै तहका सरकार, निजी क्षेत्र, समुदायसँग समन्वय गरेर सङ्घीय सरकारको नेतृत्वमा यो विपद्को सामना गर्न, शव खोजी, पहिचान र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
साथै उनले राहत वितरणमा पारदर्शिता र सहजीकरण गर्न, पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै यस्तो प्रकृतिको विपद्को तत्कालीन व्यवस्थापनदेखि दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, सरकारका कामको अनुगमन तथा आवश्यक मार्गनिर्देशनका लागि संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्न आग्रह गरे ।
नेता आङ्देम्बेले भने, “विपदमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै खत माफ भन्ने होइन । राम्रो काम गर्छ–साथ समर्थन छ, बाटो बिराउँछ खबरदारी र प्रश्न छ । खास सहयोग यही होइन र ।”
उनले रसुवाको भोटेकोशी हँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षतिले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्नुभयो । यो बाढीका रुपमा प्रकट भएको एक किसिमको प्रलयकारी सुनामी भएको उल्लेख गर्दै नेता आङ्देम्बेले भने, “सम्भवतः क्षणभरमै यति धेरै क्षति एकैपटक नेपालले व्यहोर्नुपरेको थिएन !”
उनले यस कठिन अवस्थामा सीमित स्रोतसाधनबीच पनि अग्रपङ्क्तिमा रहेर खोज, उद्धार, राहत र सुरक्षामा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, प्राविधिक विज्ञ, स्वास्थ्यकर्मीलगायत सम्पूर्णप्रति धन्यवाद र सम्मान व्यक्त गरेभयो ।
यो राष्ट्रिय विपद्मा देशभित्र र बाहिर रहनुभएका सबै नेपालीको तत्परता र अन्तरराष्ट्रिय समुदायको ऐक्यबद्धता र साथका लागि नेता आङ्देम्बेले धन्यवाद दिनुभयो । “विपद् कुनबेला कसरी आउँछ थाहा हुँदैन रहेछ । कांग्रेस पार्टीले यही सदनमा पनि पटकपटक ‘विपद् कुनै पनि बेला आउनसक्छ पूर्वतयारीमा लागौँ भनेर ध्यानाकर्षण गराएको स्मरण गराउन चाहान्छु”, उनले भने ।
कांग्रेसले सुरुआतदेखि नै विपद्मा सत्तापक्ष र प्रतिपक्ष नभनीकन ‘हामी’ भनेर सामना गर्नुपर्छ भनेको र आफूहरु सरकारको साथमा रहेको उल्लेख गर्नुभयो । नेता आङ्देम्बेले बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्री शाहलाई भेटेर तत्काल गर्नुपर्ने कामका सम्बन्धमा ध्यानाकर्षण गराएको जानकारी गराए ।
कांग्रेसले तत्काल बैठक बसेर पार्टी पङ्क्तिलाई परिचालन गर्ने र सरकारको सत्प्रयासमा साथ सहयोग गर्ने निर्णय गरेको बताउँदै उनले सर्वदलीय बैठकमा कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्