काठमाडौं । नुवाकोटको देवीघाटमा त्रिशूली नदीको किनारमा एउटा तस्बिर भेटिन्छ । २०७८ कात्तिक २३ गते मनकामना दर्शन पुगेका एक जोडीको त्यो तस्बिर अहिले बालुवा र ढुंगामाझ अलपत्र छ ।
भदौ १० गते विनाशकारी बाढी नआएको भए त्यो तस्बिर सायद अहिले कुनै बैठक कोठाको भित्तामा सजिएको हुन्थ्यो । मनकामना यात्राको सम्झना बोकेको त्यो तस्वीर आज भने बाढीले बगाएको जीवन र सपनाको मौन साक्षी बनेर त्रिशूली किनारमा अडिएको छ । तस्बिरमा भएका जोडी बाढीबाट जोगिए वा जोगिएनन् त्यो थाह छैन ।
बाढी गएको नौ दिन बितिसक्दा पनि त्रिशूली किनारका धेरै बस्तीहरू अझै सामान्य अवस्थामा फर्किएका छैनन् । त्रिशुली नदी वारिपारिको सम्पर्क टुटेको छ। पहिले पाँच मिनेटमा पुगिने ठाउँ अहिले पाँच घण्टामा पनि पुग्न कठिन छ। कतिपय स्थानमा सडकको नामोनिशान छैन।
घर भएका ठाउँमा बालुवा र ढुंगाको थुप्रो छ। एक स्थानीयले दुःख पोख्दै भने, “साथीको घर यहीँ थियो, अहिले मरुभूमिजस्तो भएको छ, चिन्न पनि सकिँदैन।”
बाढीपछिको यो दृश्य केवल प्राकृतिक विपत्तिको परिणाम मात्र होइन, जलवायु परिवर्तनले निम्त्याएको तितो यथार्थ पनि हो।
विश्वको कुल कार्बन उत्सर्जनमा नेपालले करिब ०.३ प्रतिशत मात्र योगदान गर्छ। औद्योगिक क्रान्तिपछि विकसित राष्ट्रहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनले विश्व तापक्रम बढाइरहेको छ । तर त्यसको प्रत्यक्ष असर हिमाल, पहाड र तराईमा बस्ने नेपालीहरूले भोगिरहेका छन् ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले राहत र उद्धारको काम भइरहेको बताएका छन्। सामाजिक सञ्जालमा हेलिकप्टर, राहत सामग्री र उद्धारका दृश्यहरू प्रशस्त देखिन्छन्। तर फिल्डमा पुग्दा तस्वीर फरक देखिन्छ । काठमाडौंबाट पठाइएका राहत सामग्रीहरू कतिपय स्थानमा अझै प्रभावित समुदायसम्म पुग्न सकेका छैनन् । पुल बगेपछि रसुवा र नुवाकोटका धेरै गाउँहरू अझै प्रभावकारी रूपमा जोडिन सकेका छैनन्। राहतभन्दा बढी मानिसहरू आफन्तको खोजीमा भौंतारिरहेका छन्।
हराएका आफन्त खोज्नेहरूको भीड ट्रमा सेन्टर, टिचिङ अस्पतालदेखि विदुरस्थित नेपाली सेनाको गणसम्म अझै घटेको छैन । मकवानपुरबाट स्कुटर चढेर रसुवातर्फ हराएका आफन्त खोज्न निस्किएका दुई जना व्यक्ति शिवपुरी गाँउपालिकाको गुरुङ गाउँमा भेटिए । उनीहरूलाई आफन्त कहाँ छन् भन्ने जानकारी छैन। जीवित छन् कि छैनन् भन्ने पनि थाहा छैन। खोज्न अगाडि जाने बाटो छ कि छैन भन्ने निश्चितता समेत छैन । तर खोजी रोकिएको छैन ।

सायद यही कारणले होला, बाढी आएको एक सातापछि धेरै परिवारले आशा र यथार्थबीच कठिन निर्णय लिन बाध्य भएका छन् । धेरैले हराएका आफन्तको शव नभेटिँदै कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गर्न थालेका छन्। धार्मिक संस्कारको लागि एउटा समाजले भोगिरहेको असह्य पीडाको चित्र हो यो । आफन्तहरु न जीवित भेटिए, न शव नै। अन्ततः कुशलाई नै शव मानेर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आयो । अहिले बाढीले कसलाई बगायो भनेर गुनासो गर्नेहरु नै छैनन् । आफन्त, टोल, छिमेक सबै उस्तै ।
यस्ता दृश्यहरूले एउटा गम्भीर प्रश्न उठाउँछन्- जलवायु परिवर्तनको मूल्य कसले तिर्दैछ ? कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य छ। नेपालमा ठूला उद्योगहरू सीमित छन्, ऊर्जा उत्पादनमा जलविद्युत्को हिस्सा ठूलो छ र प्रतिव्यक्ति उत्सर्जन विश्वकै न्यूनमध्येमा पर्छ। तर बाढी, पहिरो, हिमताल विस्फोट, खडेरी र असामान्य वर्षाका घटनाबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये नेपाल पनि एक हो।

त्रिशूली किनारमा भेटिएको मनकामनाको त्यो तस्बिर वास्तवमा एउटा परिवारको सम्झना मात्र होइन। त्यो जलवायु परिवर्तनले बगाइदिएको हजारौँ सपना, हजारौँ घर र हजारौँ सम्बन्धको प्रतीक हो। विश्वका ठूला अर्थतन्त्रहरूले सिर्जना गरेको वातावरणीय संकटको सबैभन्दा ठूलो मूल्य आज नेपालजस्ता साना र कम कार्बन उत्सर्जन गर्ने मुलुकहरूले चुकाइरहेका छन् । (बाढी प्रभावित केही ठाउँको अवलोनपछि )







प्रतिक्रिया दिनुहोस्